घोराहीकाे सार्वजनिक सुनुवाई : खोलामा ठेक्का नलगाउने नगरप्रमुख चौधरीको प्रतिवद्धता



घोराहीकाे सार्वजनिक सुनुवाई : खोलामा ठेक्का नलगाउने नगरप्रमुख चौधरीको प्रतिवद्धता

घोराही १६ साउन । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८–०७९ को वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । थारु पत्रकार संघको सहजीकरणमा आज नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सार्वजनिक सुनुवाई गरिएको छ ।

सो अवसरमा पालिकाले वितेको एक वर्षमा सम्पन्न गरेको विकास, निर्माण, सामाजिक क्षेत्रको काम तथा संघ, प्रदेश र पालिकाबाट विनियोजित बजेट कार्यान्वयनको बारेमा पनि जानकारी गराउँदै नागरिकबाट सुझाव पनि लिइएको थियो ।

कार्यक्रममा पालिकाको विनियोजितद बजेटको ७० दशमलव ९५ प्रतिशत पूँजीगत खर्च भएको बारे जानकारी गराईएको थियो । यस्तै, प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये ५० प्रतिशत र संघ सरकारबाट विनियोजित बजेटको ७१ प्रतिशत पूँजीगत खर्च भएको पालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी गराउनुभयो । सार्वजनिक सुनुवाईमा नागरिक प्रतिवेदन तथा उनीहरुको विचार पनि समावेश गरी प्रस्तुत गरिएको थियो ।

यस्तै, पालिकालाई समस्या तथा सुझाव राख्ने क्रममा घोराही ३ का डिल्लीबहादुर चौधरीले आफ्नो वडामा प्रसुती सेवा सुरु हुन नसक्नुको कारण माग गर्नुभयो । घोराही १५ मा बेचन वलीले नगरपालिकाले वडामा दिने सबै खाल कामको बजेट समान रुपमा दिँदा ठूला योजना सम्पन्न गर्न कठिन भएको बताए ।

घोराही ७ बेसाहीका चन्द्रप्रसाद चौधरीले नदीजन्य वस्तु ठेक्का लगाउँदा आफुहरुलाई सिचाइको लागि समस्या भएको बताए । घोराही ४ भैसाहीका रामबहादुर केसीले सिस्ने खोलामा ढुङगा गिट्टी उत्खनन् गर्न दिँदा कुलो भासिएर तल पुग्दा सिचाइमा समस्या भएको गुनासो गरे । कार्यक्रममा दर्जन बढी व्यक्तिले आफ्नो गाउँ ठाउँमा भएका समस्याका बारेमा जानकारी गराएका थिए ।

नागरिकको जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख चौधरीले पालिकाले कृषकहरुलाई सिँचाइको समस्या पर्ने खोलाहरुमा नदी जन्य वस्तुको ठेक्का नलगाउने प्रतिवद्धता जनाएका छन् ।

नगरवासीको भावना भन्दा उपमहानगर बाहिर नजाने उनको भनाइ थियो । उप प्रमुख हुमा डिसीले वजेटको सदुपयोग गर्न सबै लाग्नु पर्नेमा जोड दिए । योजनाबनाउदा प्राविधिकहरुले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ रहेको थियो । कार्यक्रममा विषयगत रुपमा उठेका जिज्ञासाको जवाफ विभिन्न शाखाका प्रमुखहरुले पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे