लमही आँखा अस्पतालमा सेवाग्राहीको अत्याधिक चाप



लमही आँखा अस्पतालमा सेवाग्राहीको अत्याधिक चाप
लमही १३ साउन । आँखामा समस्या भएर चेकजाँच गराउनका निमित्त घोराही उप–महानगरपालिका ८ बाट आएका घनश्याम खड्का आफनो पालोको पर्खाइमा भेटिए । यस्तै नजिकको वस्तु नदेखिने समस्या भएर घोराही उप–महानगरपालिका १५ बाट आएका जगत केसी पनि त्यही भिडमा आफनो पालोको कुरिरहेका थिए।
दाङको लमही आँखा अस्पतालमा आजभोली सेवाग्राहीको चाप अत्यधिक बढेको छ। अस्पतालमा दाङ सहित छिमेकी जिल्लाबाट आँखाका विभिन्न समस्या भएका बिरामीहरु आउने गरेका छन् । दैनिक २ सयको हाराहारीमा सेवाग्राहीहरुले आँखा उपचार गराइरहेको डा.सुदिपराज भण्डारीले जानकारी दिएका छन् । आँखामा सुख्खापन, पाक्ने तथा वृद्धवृद्धामा मोतिबिन्दुको समस्या धेरै रहेको डा. भण्डारीले बताए । शरीरको सबैभन्दा महत्वपुर्ण अंग मानिएको आँखालाई स्वस्थ राख्न एकदमै जरुरी रहेको डा. भण्डारीको सुझाव छ ।
नेपाल नेत्रज्योती संघ दाङद्धारा सञ्चालित लमही आँखा अस्पतालले २०६३ सालबाट दैनिक आँखा उपचार र २०७० सालबाट अस्पतालको रुपमा सेवा सुरु गरेको इतिहास रहेको छ । आँखाको जटिल शल्यक्रियाका लागि बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्तय भएको र आँखा स्वास्थ्य अन्तरगतका दाङ्गका अस्पतालबाट  सेवा उपलब्ध भएको अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत शम्शेर थापाले बताए ।
२०१६ को सर्वेक्षणले लुम्बिनी प्रदेशमा दृष्टिविहिन आँखाको संख्या १ लाख ९५ हजार १ सय २० रहेको तथ्यांकले देखाएको छ। त्यसमध्ये मोतिबिन्दुले मात्रै अन्धोपन हुने आँखाको संख्या १ लाख १२ हजार ९ सय ६४ रहेको तथ्यांक छ।
दाङमा मात्रै १४ हजार ४ सय २७ आँखा मोतिबिन्दुको कारणले दृष्टिविहिन भएको तथ्यांकले देखाएको अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत थापाले बताए । लमही नगरपालिकामा १ हजार ४८, गढवा गाउँपालिकामा ८ सय ४९, राजपुर गाँउपालिकामा ५ सय ५१, राप्ती गाउँपालिकामा ८ सय ९७ आँखाको मोतिबिन्दुको कारणले दृष्टिविहिन भएको र अप्रेसन गर्न बाँकी रहेको अधिकृत थापाले जानकारी दिएका छन् ।
स्थानीय सरकार सँङको सहकार्यमा मोतिबिन्दुको कारणले दृष्टिविहिन भएका आँखाको निशुल्क अप्रेसन गर्ने योजना रहेको अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत थापाले जानकारी दिए । अस्पतालको नाजुक अवस्थाका कारण मोतिबिन्दुको अप्रेसन गर्नु पर्ने बिरामीको लागि निशुल्क उपचार सेवा दिने गरेको अधिकृत थापाले जानकारी दिए । दुरदराजका स्थानीयका लागि अस्पतालले घरदैलो मै समय समयमा निशुल्क आँखा चेकजाँच, आँखा शिविर सञ्चालन गरेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।
अस्पतालमा अहिले पुर्वाधार विकासको काममा अघि बढेको छ। जसअन्तर्गत लमही आँखा अस्पतालमा कर्मचारी आवास भवनको कार्य अन्तिम चरणमा रहेको छ। यस्तै अस्पतालले जनशक्तिको अभाव हुन नदिन नेत्रसहायकको पठनपाठन सञ्चालन गरिरहेको छ। पुर्वाधार विकास, अत्याधुनिक उपकरणको व्यवस्थापन तथा अस्पताल लाई टिचिङ्ग अस्पताल बनाउने गरी विभिन्न निकाय सँगको सहकार्यमा प्रयास भईरहेको अधिकृत थापाले जानकारी दिए ।
मोबाइल एप सञ्चालनमा
अस्पतालको अत्यधिक चापलाई व्यवस्थित गर्न तथा सेवालाई थप प्रभावकारी बनाउन लमही आँखा अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको नेपाल नेत्रज्योती संघ दाङ शाखाका उपसभापति तथा अस्पताल व्यवस्थापन समितिका सदस्य रेशम बहादुर खड्काले जानकारी दिएका छन् ।
मोबाइलको प्लेस्टोरमा गई नेत्र ज्योती संघ दाङ एप डाउनलोड गरी घरबाटै नाम दर्ता गराउन सकिने छ। अस्पतालमा भएको भिडभाड नियन्त्रणका लागि तथा सेवाग्राहीको सहजताका लागी मोबाइल एप  सञ्चालनमा ल्याएको अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत थापाले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे