बुवा आमाको प्रेरणाले अन्तरिक्षयात्री बन्न लागेकी हुँ : ज्योती केसी
भालुवाङ १८ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङकी ज्योती केसीले बुवाआमाको प्रेरणाले अन्तरिक्षयात्री बन्न लागेको बताएकी छिन् । शनिवार राप्ती प्रेस मञ्चले उहाँकै निवासमा गरेको भेटघाटका क्रममा ज्योतीले कुरा बताएकी हुन् । कक्षा १० सम्म लालमटियामा रहेको मुनलाइट स्कुलमा अध्ययन गरेकी उनले प्लस टु बुटवलबाट गरेकी थिइन् । ५ वर्षअघि उनी ‘डिभी’ चिठ्ठा परेपछि अमेरिका गएकी थिइन् ।
उनी अमेरिका पुगेको २ वर्षसम्म रोजगारी गरिन् । त्यसपछि उनी अमेरिकी वायुसेनामा छनौट भइन् । उनले भनिन्, ‘म एयरफोर्स जान लागेको घरपरिवार कसैलाई पनि जानकारी दिइनँ । किनकी त्यो लामो प्रक्रिया रहेको थियो । मैले पहिलो पटक तयारी गर्दा म ३५ किलो मात्र थिए ँ। त्यहाँ छनौट हुन ५० किलो हुनुपथ्यो । परीक्षा दिएर नाम निकाल्नुपर्ने हुन्छ । त्यसमा पनि राम्रो अङ्क आएन । फेरि मैले ३ महिनामा ५० किलो तौल पु¥याएँ । दोस्रो पटकमा छनौट भए । म छनौट भएपछि मात्र बुबाआमालाई जानकारी दिएको उनले बताए ।
त्यसपछि फेरि स्वास्थ्य परीक्षण भयो । त्यसमा पनि पास भएपछि मेरो पृष्ठभूमि जाँच भएको थियो । त्यो सबै गर्न करिब १४ महिना लागेको उनको भनाइ छ । त्यसपछि उनलाई वायु सेनाको जागिरकै क्रममा अन्तरिक्षयात्री बन्ने अर्को अवसर पनि मिल्यो । त्यसपछि उनी त्यसका लागि अध्ययन गर्न पोल्याण्ड गइन्। अन्तरिक्षयात्री बन्नका लागि २ हप्ताको तालिममा सहभागी भइन् । उनले भर्खरै एनालग आस्टर्ड अन्तरिक्षको रिसर्च पूरा गरेकी छन् । उनले उक्त रिसर्चले आफूलाई राम्रो अनुभव दिएको पनि बताइन् ।
उनले भनिन्, ‘ एयरफोर्समा भएका मेरा साथीहरूले यो रिसर्च एक वर्ष अगाडि गरेका थिए । त्यो वेला मेरो समय मिलेको थियो । यो वर्ष मैले आफैंले समय मिलाएर गरेकी हुँ । मलाई यसमा एयरफोर्सले निकै सहयोग गरेको छ ।’ उनले आफ्नो युनिटको आफू यो रिसर्च गर्ने पहिलो व्यक्ति भएको पनि बताइन् । पोल्याण्डमा अन्तरिक्ष यात्रीको कोर्ष पूरा गरेकी उनी अब नासा सँगको सहकार्यमा रिसर्चका लागि उड्ने योजना रहेको बताइन् ।
उनी अहिले दाङको भालुवाङ आएकी छन् । २० दिनको बिदामा घरपरिवारलाई भेट गर्न आएको उनको भनाइ छ । उनले भनिन्, ‘त्यहाँ पुग्ने मेरो जीवनको लक्ष्य हो तर मलाई त्यहाँ पुग्न कति समय लाग्छ, थाहा छैन । त्यो मैले एक दिन जति समय लागे पनि पूरा गर्नेछु ।’ उनले आफूलाई अवसर आएको र त्यसैलाई सदुपयोग गरेको पनि बताइन् ।
उनले मौका एकपटक मात्र आउने भएकाले पनि त्यही मौका पूरा गर्न घरपरिवारको साथ सहयोग पाएको बताइन् । उनले भनिन्, ‘घरमा ढिला उठ्दा बुबाले सधैँ भन्नुहुन्थ्यो । मानिस बिहानै उठेर अन्तरिक्षमा पुगिसके। तिमीहरू अझै बिस्तराबाट उठेका छैनौ । त्यो भनाइ नै मेरो मनमा छापा बसेको थियो। जसले गर्दा पनि आज त्यस्तै भयो । म अब अन्तरिक्षमा पुग्न लागेकी छु ।
यस्तै उनले कुनै पनि व्यक्ति आफ्नो लक्ष्यमा पुग्नको लागि आफू जहाँ छ, त्यहीबाट गर्नुपर्ने बताइन् । उनले कुनै पनि काम गर्नको लागि टिम बनाएर जाँदा सफल हुने पनि बताइन् । उनले आफू मात्र नभई सबैको साथ सहयोगबाट नै अगाडि बढ्न सकिने पनि बताइन् । उनले भनिन्, ‘ मैले एक्लै संघर्ष गरेर यो ठाउँमा पुग्नका लागि ३ देखि ५ वर्षको समय लागेको छ । प्रशिक्षार्थी पत्रकार सिर्जना थापा र निसा कुमारी चौधरीले याे समाचार पठाएका हुन् ।