दाङमा भेटिएको सिक्का परीक्षणका लागि पुरातत्व विभागका अधिकारी आउने



दाङमा भेटिएको सिक्का परीक्षणका लागि पुरातत्व विभागका अधिकारी आउने

दाङ ५ असार । दाङको रक्षाचौरमा बाटो खन्ने क्रममा फेला परेको सिक्का परीक्षणका लागि पुरातत्व विभागका अधिकारी दाङ आउने भएका छन् । पुरातत्व विभागका पदाधिकारीहरु सँग कुरा भइरहेको हुँदा उनीहरू छिट्टै दाङ आउने र ती पुरातत्विक महत्वका सिक्काहरू परीक्षण हुने जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सिक्काहरू फेला परेको र उक्त सिक्का राष्ट्रिय सम्पत्ति भएको बताउँदै एसपी काफ्लेले परीक्षणपछि सबै सिक्का पुरातत्व विभागका पदाधिकारीहरुलाई जिम्मा लगाउनले बताए ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सिक्का भेटिएको जानकारी विभागलाई आएको र एक–दुई दिनमै परीक्षणका लागि टोली पठाउँने बताए । गत बुधबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरस्थित सिमराटोलको खेत हुँदै बाटोको नयाँ ट्रयाक खन्ने क्रममा कसौडीमा राखेर गाडेको अवस्थामा ऐतिहासिक चाँदीका सिक्का जेसिबी चालक सुवाशचन्द्र चौधरीले फेला पारेका थिए । चौधरीले ती सिक्का तुलसीपुर–१५ मलवारस्थित आफ्नो घरमा लगेर लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

कसौडीमा फेला पारेका पाँच सय ३७ थान चाँदीका प्राचीन सिक्कामध्ये ७६ वटा भारतीय सिक्का छन । ती सिक्का ब्रिटिस सरकारको पालाका हुन्। त्यस्तै चार सय ६१ वटा सिक्कामा श्री ३ लेखेका लेखिएको छ । सल्यान कपुरकोटका अर्का जेसिबी चालक राजन खड्कालाई सहमतिअनुसार चौधरीले भागबन्डा नगरेपछि उनै खड्काले जग्गा धनी शोभा भण्डारीलाई गाडेको धन फेला परेको कुरा खोलेका थिए । २५ वर्षीय जेसिबी चालक चौधरीलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । प्रहरीले बाटो खनिरहेको ठाउँमा अरू त्यस्तै पुरातात्विक महत्वका वस्तु हुन सक्ने भन्दै बाटो खन्न रोक लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे