गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा मेयर, उपमेयर र १३ वटा वडाअध्यक्ष सहित एमाले विजयी



गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा मेयर, उपमेयर र १३ वटा वडाअध्यक्ष सहित एमाले विजयी

दाङ ५ जेठ । सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुनः निर्वाचित हुनुभएको हो । चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका छन् । उनले ३१ हजार ७ सय २८ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् । चौधरी २०७४ मा पनि प्रमुखमा निर्वाचित भएका छन् । ०७४ मा उनले २२ हजार ३० मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत पाउनुभएको थियो। माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका छन् । चौधरीले यसपटक ९ हजार ६ सय ९८ मत बढाएका हुन् ।

उनी हाल एमाले पोलिटब्युरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज समेत हुन् । उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी ४९ मतान्तरले विजयी भएकी छिन् । उनले ३० हजार ४ सय ३ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गरेका छन्। डाँगी २०७४ मा प्रमुखमा प्रतिस्पर्धा गरेर एमालेका चौधरीसँग पराजित भएका थिए । डिसी विधवा महिला सरोकार केन्द्रको अध्यक्ष भएर लामो सयम सामाजिक आन्दोलनमा क्रियाशिल रहेकी थिइन् ।

उनले घरेलु हिंसा पीडित महिलाको संरक्षणका लागि सेफ हाउस सञ्चालन गर्नुका साथै सहकारी संस्था र महिला मानवअधिकार रक्षक सञ्जालको पनि नेतृत्व गरिसकेका छन् । उनी अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष पनि हुन् । घोराहीमा एमालेले १९ मध्ये १३ वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले एक मात्र वडा जितेको छ ।

एमालेले १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७ र १८ नम्बर वडा जितेको छ । कांग्रेसले १०, १३, १५, १६ र १९ नम्बर र माओवादी केन्द्रले ९ नम्बर वडा मात्र जितेको छ । एमालेले २०७४ भन्दा वडा बढाएको छ । पहिले ८ वडा जितेकोमा अहिले ५ वडा बढाएर १३ पुर्‍याएको छ । कांग्रेसले पहिले जितेकामध्ये एक र माओवादी केन्द्रले दुई वडा गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे