घ‍ोराहीको मेयरमा गठबन्धनलाई पछि पार्दै विजयको संघारमा नरूलाल चाैधरी



घ‍ोराहीको मेयरमा गठबन्धनलाई पछि पार्दै विजयको संघारमा नरूलाल चाैधरी

दाङ ४ जेठ । दाङको घोराही नगरपालिकामा भइरहेको मतगणनामा नेकपा एमालेका नरूलाल चौधरीले फराकिलो मतान्तर कायम गर्दै लगेका छन्।

उनी यहाँ दोहोरिएर मेयर उठेका हुन्। २०७४ सालमा पनि मेयरमा निर्वाचित भएका थिए। त्यतिबेला उनले २२००३ मत पाएका थिए।

त्यतिखेर उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री थिए। उनले १७४८४ प्राप्त गरेका थिए। त्यो बेला नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार जीवन गौतमले १२०८२ मत प्राप्त गरेका थिए।

एमालेबाट चौधरीले यसपालि पनि मेयरको टिकट पाए। कतिपय कामको प्रशंसा र कतिपयको आलोचना झेलिरहेका चौधरीविरूद्ध घोराहीमा सत्ता गठबन्धनले संयुक्त रूपमा लड्ने तय गर्‍यो। गठबन्धनले माओवादीलाई मेयर दियो। उसले आफ्ना केन्द्रीय सदस्य हेमराज शर्मालाई मेयरमा उठायो।

यसअघि एक्लाएक्लै उठ्दा छरिएको भोट यसपालि एक ठाउँमा हुन्छ र जितिन्छ भन्ने विश्वाससहित शर्मा चुनावी मैदानमा होमिए। हुन पनि त्यो बेला कांग्रेस र माओवादीलाई आएको भोट शर्मालाई आएको भए उनले जित्थे। उनलाई त्यो भोट आउँछ भन्ने विश्वास पनि थियो।

अघिल्लो कार्यकाल सहजै चुनाव जितेका चौधरीलाई यसपालि भने सजिलो हुने छैन भन्ने धेरैको आँकलन थियो। मतगणनाको सुरूवातमा त्यसको छनक पनि देखियो। गठबन्धनका मेयर शर्मा र उपमेयर डाँगीले एमालेका मेयरका उम्मेदवार चौधरी र उपमेयरकी उम्मेदवार डिसीलाई निकै पछि पारे।

शर्माले झन्डै हजार मतको अग्रता लिएका थिए। वडा नं. १४ मा गठबन्धले ७३ मतले जित्यो। यहाँ पहिले माओवादीले जितेको थियो। एमालेले जितेको वडा नं. १८ मा १०६ मतले जित्यो। एमालेले नै जितेको वडा नं. १९ गठबन्धनले ९१८ मतले जित्यो। वडा नं. १० मा कांग्रेसले जितेको ठाँउमा जम्मा ३१ मतले जित्यो। कांग्रेसले जितेको वडा नं. १५ मा गठबन्धनले १२९२ मतले जित्यो। वडा नं. १३ मा एमालेले जितेको ठाउँमा १६४ मतले जित्यो। पहिले एमाले र पछि उपचुनाव हुँदा कांग्रेसले जितेको वडा नं. १६ मा जम्मा २ मतले मात्रै गठबन्धनले जित्यो।

यति गन्दासम्म उक्लिएको गठबन्धनको अग्रतामा बिस्तारै ब्रेक लाग्यो। वडा नम्बर ११ मा आएर गठबन्धन दलको ओरालो सुरू भयो। यहाँ शर्माले चौधरीभन्दा ५२५ मत कम ल्याए। यो वडा गएको चुनावमा पनि एमालेले जितेको थियो। त्यसपछि क्रमिक रूपमा पछि पर्न थालेको गठबन्धन अहिले एमालेका उम्मेदवारभन्दा धेरैनै पछि परिसकेको छ।

बुधबार बेलुकीसम्म ६८ हजार ३६१ मतगणना हुँदा एमाले मेयरका उम्मेदवार चौधरीले ३२३१२ मत पाइसकेका छन्। शर्माले भने २६१८७ मत ल्याएका छन्। अर्थात् उनी चौधरीसँग ६१३० मतले पछि परेका छन्।

उपमेयरमा पहिले एक्लै भिड्दा दोस्रो भएका काँग्रेसका भुपबहादुर डाँगीले ३०२६५ ल्याउँदा उपमेयरकी एमाले उम्मेदवार ३०६२४ मत पाएकी छन्। उनीहरू बीचको मतान्तर ३५७ रहेको छ।

डाँगी अझै पनि चुनाव जित्ने विश्वासमा छन्। ‘दुई अढाई सय मतले भए पनि अझैं मैले नै जित्छु,’ उनले भने। गठबन्धन अनुरूप मतदातामा विश्वास पैदा गर्न नसकेको र सोचेको मत नआएको उनले स्वीकार गरे।

कांग्रेस-माओवादीबीच गठबन्धन भए पनि मतदातालाई सोही अनुसार एक गर्न नसकेको उनले बताए। दुबै पार्टीका कार्यकर्ताले पनि सक्रियतापूर्वक काम नगरेको उनको भनाइ छ।

‘टिकट नपाएका मानिस केही असन्तुष्ट भए र उनीहरू निष्क्रिय भएर बसे,’ डाँगीले भने, ‘कांग्रेस र माओवादी दुबै दलमा त्यस्तै देखियो।’

उनका अनुसार अधिकांश कांग्रेसका नेता-कार्यकर्ताले बदमासी गरे भने थोरै मात्रामा माओवादीले पनि बदमासी गरे।

माओवादी केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवार हेमराज शर्माले पनि गठबन्धन दलहरूका बीचमा विश्वास पैदा गर्न नसकिएको स्वीकार गरे।

‘गठबन्धन त भयो, तर पार्टीभित्र हामीले त्योअनुरूप विश्वास पैदा गर्न सकेनौं,’ उनले थपे, ‘यसको वस्तुनिष्ट ढंगले समीक्षा गर्न त बाँकी नै छ। तर, सत्य के हो भन्दा हामीले दुबै पार्टीमा विश्वास पैदा गर्न सकेनौं भन्ने लागेको छ। ’

निर्वाचनको अन्तिम परिणाम घोषणा नहुँदै एकले अर्कोलाई आलोचना गर्नु उचित नहुने भन्दै उनले मूल रूपमा विश्वास पैदा गर्न नसकिएको अनुभूति आफूलाई भएको तर्क गरे।

‘हाम्रा पार्टी भित्रका अन्तरविरोधलाई अलि साइजमा ल्याउन सक्नु पर्दथ्यो,’ उनले थपे, ‘ सबै कुराहरूलाई केन्द्रित गर्न नसक्नु हाम्रो कमजोरी रह्यो।’ रूपमा हेर्दा गठबन्धन एकाकार भएर गएको छ भन्ने देखिए पनि अन्तर्यमा त्यसो रहेनछ भन्ने देखिएको शर्माले बताए।

‘जेहोस अहिलेसम्मको मत प्राप्तिलाई मैले राम्रैसँग लिएको छु,’ उनले भने, ‘जनताले जसरी विश्वास गरे त्यसको मैले खुल्ला मनले कदर गर्ने छु र परिणाम जे आए पनि म जनताको सेवामा सदैब लागि रहने छु।’

निर्वाचनको मुखमा माओवादीका कतिपय मुख्य नेताहरूले पार्टी छाडेर गएकाले पनि त्यसको असर निर्वाचनमा देखिएको कतिपयको तर्क छ। पार्टीका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सस्दय जीवन गौतमले निर्वाचनको मुखमै आएर पार्टी त्यागेको घोषणा गरेका थिए। शर्माले भने त्यसले धेरै ठूलो असर नगरेको जिकिर गरे।

‘त्यसले धेरै मत प्रभावित गरेको हैन। तर मूल रूपमा हामीले हाम्रै पार्टीमा विश्वास पैदा गर्न सकेनौं भन्ने नै लागेको छ,’ उनले भने।

गठबन्धनका उम्मेदवारविरूद्ध फराकिलो अग्रता कायम गरेका चौधरी भने आफूले गरेको कामको जनताले अनुमोदन गरेको बताउँछन्।

नेकपा एमालेका चौधरीले आफूले २०७४ को स्थानीय तह निर्वाचनमा मेयर जितेपछि गरेको विकासको जनताले राम्रो समीक्षा गरेर मतदान गरेको तर्क गरे। त्यस्तै उनले माओवादी-कांग्रेसलगायतका दलबीचको अप्राकृतिक गठबन्धन जनताको रूचीको विषय नबनेको हुँदा पनि आफूले लोकप्रिय मत पाएको बताए। घोराहीका जनताले चुनाव जित्नका लागि मात्र बनेको गठबन्धनलाई झापड हानेको उनले तर्क गरे।

‘घोराहीका जनताले अप्राकृतिक गठबन्धनलाई रूचाएनन् र पार्टीको ह्विप पनि मानेनन्,’ चौधरीले भने, ‘हामीले घोराहीबासीलाई सही सूचना र सही कुरा बझाएर गलत कुरा हाबी हुन दिएनौं। त्यसैले जनताले बुझेर मात्रै आफ्नो मताधिकार प्रयोग गरे।’ जनतालाई सचेत गराएको र यर्थाथ कुरा बुझाउन सकेकाले जितको आधार खडा भएको उनले तर्क गरे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे