दाङमा निर्वाचनको सम्पूर्ण तयारी पुरा



दाङमा निर्वाचनको सम्पूर्ण तयारी पुरा

दाङ २९वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । जिल्लाका दश पालिका र एक सय वटा वडा मध्य ९९ वटा वडामा भोली बैशाख ३० गतेका दिन निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका सम्पू्र्ण काम पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरु मतदान केन्द्रमा पुगिसकेको जनाएको छ । जिल्लाका सवै पालिकामा निर्वाचनका सवै सामग्री पुराउने काम भइसकेको छ । मतदान केन्द्रमा पुगेका प्रतिनिधिहरुले मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्न थालिसकेका छन् ।

मतदान स्थललाई व्यवस्थित गर्नका लागि डोरी लगाउने, तारवार गर्ने जस्ता काम भइरहेको छ । जिल्लामा रहेका ९९ वटा वडाका मतदान केन्द्रमा तयारी गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री सहित पुगेका कर्मचारीले मतदानस्थल निर्माण गरिरहेका छन् । निर्वाचनको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरीको सुरक्षा परिचालन रहनेछ । यस्तै सशस्त्र र नेपाली सेनाले दोस्रो र तेस्रो घेराको सुरक्षा दिनेछन् प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

जिल्लामा ३५ सय सुरक्षाकर्मि र २५ सय कर्मचारीहरु परिचालन गरिएको छ । जिल्लामा एक सय ५३ स्थानमा मतदानस्थल रहेका छन् । ति स्थलमा चार सय ६१ वटा केन्द्र रहनेछन । हरेक गाउँपालिकामा दुई जना प्रहरी निरिक्षक सहितको सुरक्षाकर्मीहरु रहेका छन् ।

त्यस्तै नगरपालिकामा डिएसपीसहित प्रहरी निरिक्षकको जिम्मामा पठाईएको छ । उनीहरुको साथमा नेपाली सेना, सशस्त्र र म्यादी प्रहरीहरु समेत खटिएका छन् । मतपत्र, मतपेटिकासहित मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरु जिम्मा पाएका मतदानस्थलमा गइसकेको मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले जानकारी दिए ।

मंगलबार राती १२ बजे देखि मौन अवधी शुरु भएकाले आचारसंहिता पालनाका लागि पनि मुख्य निर्वाचन अधिकृत थापाले सवैलाई आग्रह गरे । मतदाताले मतदान गर्न जाँदा कुनै पनि सामग्री लग्न नपाइने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे