मौन अवधिमा सामाजिक सञ्जालबाट हुने चुनाव प्रचार रोकिएन, लाइक, कमेन्ट र शेयर गर्नेलाई पनि कारबाही हुने



मौन अवधिमा सामाजिक सञ्जालबाट हुने चुनाव प्रचार रोकिएन, लाइक, कमेन्ट र शेयर गर्नेलाई पनि कारबाही हुने

काठमाण्डाै २८ बैशाख । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि हिजाे मङ्गलवार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्नु हुँदैन ।

भौतिक रूपमा नारा जुलुस, भेला, र्‍याली लगायतका गतिविधि निकै कम भए पनि सामाजिक सञ्जालमार्फत हुने प्रचार भने रोकिएको छैन । फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, टिकटक लगायतका सामाजिक सञ्जालमा डलर तिरेर स्पोन्सर गरेका प्रचार सामग्री प्रशस्तै भेटिएका छन् ।

यस्ता सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्न पनि नपाइने आयोगले बताएको छ तर अहिले प्रचार सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्नेहरू छ्यापछ्याप्ती भेटिएका छन् ।

आयोगले हिजाे राति १२ बजेअघि नै स्पोन्सर गरिएका सामग्री निष्क्रिय बनाउन या हटाउन निर्देशन दिए पनि सामाजिक सञ्जालका भित्ता दल र उम्मेदवारका प्रचार सामग्रीले भरिएका छन् ।

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रचार सामग्री राख्ने र त्यसमा लाइक, कमेन्ट र शेयर गर्नेहरूलाई पनि कारबाही हुने चेतावनी दिए । ‘हामीले त्यस्ता सामग्री हटाउन भनेका छौँ ।

त्यस्ता सामग्रीमा लाइक, शेयर र कमेन्ट नगर्न भनेको छौँ, कसैले अटेरी गर्छ भने आयोगमा नेपाल प्रहरीको साइबर ब्युरो सहितको टास्क फोर्स छ, त्यसले कारबाही गर्छ । त्यस्ता सामग्री राखिएका पेजहरू ब्लक हुन सक्छन्, त्यसैले कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालको प्रयोग नगरौँ’, अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे