दाङका दुई ठाउँमा आज चुनावीसभा गर्दै सत्तागठबन्धन, प्रधानमन्त्री देउवा र प्रचण्ड लगायतका नेताले सम्बोधन गर्ने



दाङका दुई ठाउँमा आज चुनावीसभा गर्दै सत्तागठबन्धन, प्रधानमन्त्री देउवा र प्रचण्ड लगायतका नेताले सम्बोधन गर्ने

दाङ २५ बैशाख । सत्तागठबन्धनले आज दाङका दुई ठाउँमा चुनावी सभा गर्ने भएका छन्। उक्त सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

तुलसीपुरको अरणी मौदान र घोराहीको जिल्ला समन्वय समिति मैदानमा चुनावी सभा हुनेछ। चुनावी सभाका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेललगायत आउने कार्यक्रम छ।

तुलसीपुरको अरणी मैदानमा मध्यान्ह १२ बजेपछि कार्यक्रम सुरू गरिने कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले बताए। यसपछि नेताहरू घोराहीको सभामा जानेछन्।

सत्तागठबन्धनबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर उम्मेदवार छन्।

घोराही उपमहानगरमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) मेयरमा र कांग्रेसका नेता भुपबहादुर डाँगी उपमेयरमा उम्मेदवार छन्। दाङका १० पालिकामध्ये तुलसीपुर, घोराही र बंगलाचुलीमा मात्रै सत्तागठबन्धन दलले तालमेल गरेका छन्।

घोराही र बंगलाचुलीमा प्रमुख पद माओबादीले पाएको छ। यी दुबै पालिका निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतमा पर्छन्। यही क्षेत्रबाट पछिल्लो समय कृष्णबहादुर महराले निर्वाचन जितेका थिए।

लमही नगरपालिकासहित अन्य सात पालिकामा दलहरु एक्ला एक्लै मैदानमा उत्रिएका छन्। कांग्रेस, माओवादीलगायत दलबाट विभिन्न पालिका र वडाहरुमा स्वतन्त्र उम्मेदवारीसमेत परेको हुँदा उनीहरुलाई मनाउन तथा सम्बोधन गर्न शीर्ष नेताहरु आउन लागेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे