देउखुरीको गन्धैला नाकामा आगलागी हुँदा ५ घर जलेर नष्ट



देउखुरीको गन्धैला नाकामा आगलागी हुँदा ५ घर जलेर नष्ट

देउखुरी ११ वैशाख । दाङको देउखुरीमा आगलागी हुँदा ५ घर जलेर खरानी भएको छ । राजपुर गाउँपालिका वडा नं.७ स्थित गन्धौला नाकामा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका हुन् ।

नेपाल–भारत सीमा अन्तर्गत उक्त नाकामा दिउसो ३ बजेदेखि आगलागी हुँदा त्यहाँ ५ घर जलेर नष्ट भएको स्थानीय सुन्तली विकले जानकारी दिइन् ।

उनका अनुसार भारतीय जंगलमा आगलागी भएको र त्यहाँबाट आएको झिल्काले उनीहरुको बस्तिको जंगलमा समेत आगलागी भएको थियो । आगलागीबाट सोही ठाउँका जिबलाल विक, निमबहादुर पनु, गणेश पुन, बने पुन र रामबहादुर पुनको घर तथा बाख्रा र गाई गोठ जलेर नष्ट भएको हो ।

साथै गोठमा रहेका गाई, बाख्रा, चल्ला समेत जलेका छन् । वरपर अझै अन्य ४ घर रहेको र ति घर पनि जोखिममा रहको विकले जानकारी दिईन । उनका अनुसार दिउसो प्रहरी, सशस्त्र प्रहरीसहितको टोली आएर आगो नियन्त्रणमा लिएका थिए ।

अहिले पनि बनमा आगो ननिभेकाले घरमा आगलागीको जोखिम रहेको उनको भनाई छ । आगलागीबाट अन्नपात, सुन,धन, माल, लत्ताकपडालगायत सबै जलेर नष्ट भएकाले पीडितहरु आफन्तीको घरमा गएर बसेका छन् ।

नजिक पानी नहुँदा भारतबाट पानी ल्याएर दिउसो केही समय आगो नियन्त्रणमा लिएको भएपनि अहिले पनि आगलागीको जोखिम कायम रहेको उनले जानकारी दिइन् । हावा लागिरहेकाले पनि त्यसको झिल्काले आगलागीको जोखिम बढ्ने गरेको छ । आगलागी भएका घरहरु खरका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे