दाङमा पहिलाे दिन ६८ जनाले गरे उम्मेदवारी मनोनयन दर्ता



दाङमा पहिलाे दिन ६८ जनाले गरे उम्मेदवारी मनोनयन दर्ता

 दाङ ११ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता आइतबारदेखि सुरु भएको छ । जिल्लामा आइतबार राष्ट्रिय मान्यता प्राप्त दलले उम्मेद्वारी मनोनयन दर्ता नगराएको दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

प्रमुख थापाका अनुसार जिल्लामा पहिलो दिन ६८ जना साना दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तुलसीपुर उपमहानगरपालिकाको उपमेयरको पदमा स्वतन्त्र उम्मेदवारका तर्फबाट सुशील गन्धर्वले पहिलो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौर निवासी गन्धर्वले निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनले तुलसीपुर उपमहानगरपालिकाको समग्र विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

त्यस्तै घोराही उपमहानगरपालिकाको नगर प्रमुख पदमा पहिलो उम्मेद्वारी मालेबाट नेत्रप्रसाद पाण्डेय र उपप्रमुख पदमा राधिका क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै मौलिक जरोकिलो पार्टीबाट दीर्घप्रसाद भण्डारीले पनि प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै स्वतन्त्रबाट घोराही उपमहानगरपालिकाको प्रमुख पदमा घोराही १५ भरतपुर निवासी श्रीमन न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म साना राजनितिक दललाई समय दिइएको छ भने सोमबार १२ गते प्रमुख राजनितिक दललाई मनोनयन दर्ताका लागि समय तोकिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा दलहरुले मनोनयन दर्ता आइतबारदेखि शुरु गरेका छन् ।

जिल्लामा साना र ठूला दल गरी २९ दलले उम्मेदवारी मनोनयन दर्ता गराउदै छन् भने स्वतन्त्र उम्मेदवारी पर्न सुरु गरेको मुख्य निर्वाचन अधिकृत थापाले बताए । उम्मेदवारले एक जना समर्थक र एक जना प्रस्तावकको हस्ताक्षरसहित निर्वाचन अधिकृत समक्ष मनोनयन दर्ता गराउनु पर्छ । मनोनयन पत्रका साथ उम्मेदवारले कुनै प्रकारको सरकारी सेवा तथा सुविधा नलिएको स्वघोषणा गर्नुपर्छ । २१ वर्ष उमेर पुगेका नेपाली नागरिकले पालिका चुनावमा कुनै पनि पदमा उम्मेदवार बन्न पाउँछन् ।

त्यसका साथै आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ मा भएको व्यवस्था अनुसार उम्मेदवाार बन्नका लागि अरु मापदण्डहरु पनि तोकेको छ । यसका साथसाथै पद अनुसार उम्मेदवारहरुले फरक-फरक खालका कागजात पेश गर्नुपर्छ । प्रमुख तथा उपप्रमुखमा मनोनयन दर्ता गर्ने उम्मेदवारहरुले ९ प्रकारका कागजात र वडाध्यक्ष तथा सदस्यहरुले ९ प्रकारका कारण पेश गर्नुपर्छ । दलित महिला सदस्यले १० प्रकारका कागजात बुझाउनुपर्छ । दलीय रुपमा उम्मेदवारी दिने भए मनोनयनपत्र (टिकट) अनिवार्य गरिएको छ भने स्वतन्त्र उम्मेद्वारका लागि दलको पत्र आवश्यक पर्दैन ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार २०७९ वैशाख ११ र १२ गते उम्मेद्वारहरुको मनोनयन दर्ता, १२ गते (अपराह्न) उम्मेद्वारहरुको नामावली प्रकाशन, १३ गते उम्मेद्वारमाथि उजुरी दर्ता, १४ र १५ गते उजुरीमाथि छानविन, १५ गते (अपराह्न) उम्मेद्वारको नामावली प्रकाशन, १६ गते उम्मेद्वारको नाम फिर्ता, १६ गते(अपराह्न)उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र १७ गते निर्वाचन चिह्न प्रदान गरिने छ । त्यस्तै निर्वाचन आयोगले मनोनयन दर्ता व्यवस्थित ढङ्गले सम्पन्न गर्न अपिल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे