दाङमा गठबन्धनलाई उम्मेदवार छान्नै सकस



दाङमा गठबन्धनलाई उम्मेदवार छान्नै सकस

दाङ १० वैशाख । दाङ जिल्लाका दुई उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनबीच तालमेल भएपनि अन्य पालिकामा भने तालमेलले पूर्णता पाउन सकेको छैन।

मनोनयन दर्ताको समय मुखैमा आउँदा पनि सत्ता गठबन्धन दलबीचमा सहमति नजुट्टा तालमेलले पूर्णता पाउन नसकेको हो ।

नेताहरु अहिले पनि तालमेलको लागि बैठकमा बसिरहेका छन् । तर, निस्कर्ष निस्किएको भने छैन। नेपाली कांग्रेसले गढवा गाउँपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा एक्लै चुनावी प्रतिस्पर्धामा जाने तयारी गरेपछी नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अलग गठबन्धनको तायरी गरेको स्रोतले बताएको छ ।

राप्ती गाउँपालिकामा माओवादी केन्द्रले प्रकाश बिष्टलाई अध्यक्षमा उठाउने तयारी गरेको छ । पहिला कांग्रेसले गठबन्धनका दललाई वास्तै गरेन । अन्य दलहरुसँग सहमति गरिसकेपछि खोज्न थालेको बुझियो’, माओवादी केन्द्रका एक नेताले भने– ‘कांग्रेसले उपाध्यक्ष र केही वडा अध्यक्ष दिने प्रस्ताव गरेको सुनियो । तर, माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चा लगातका दलसँग कुरा टुंगोमा पुर्‍याएको छ ।’

वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो । यही कारणले कांग्रेसले आफूलाई बलियो ठान्दै आएको छ ।

गढवा गाउँपालिकामा पनि नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा जानेगरी निर्णय गरिसकेको छ । त्यहाँ पनि माओवादी केन्द्र र अन्य साना दलसँग तालमेल गरेर मनोनयन दर्ता गर्ने तयारी थालेको छ ।

माओवादीको तर्फबाट यमलाल पोख्रेल(विश्वास) अध्यक्षमा उठ्दैछन् । गढवा गाउँपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालले जितेको पालिका हो ।

उपाध्यक्ष शान्ति चौधरीले एकिकृत समाजवादी पार्टी रोजेकी छिन् । उनलाई यसपाली माओवादी सहितको गठबन्धनबाट पुनः उपाध्यक्षको टिकट दिन सक्नेगरी पहल भइरहेको स्रोतको दावी छ ।

राजपुर गाउँपालिकामा पनि पाँच दलीय गठबन्धन नहुने देखिएको छ । माओवादी केन्द्रले एक्लै चुनाव लड्नेगरी उम्मेदवार समेत सार्वजनिक गरिसकेको छ ।

अध्यक्षमा चक्रबहादुर खड्का(शिखर) र उपाध्यक्षमा पुष्पा यादवलाई उठाउने तयारी छ । कांग्रेस पनि एक्लै चुनावमा जाने तयारीमा छ ।

यो पालिका अघिल्लो निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको थियो । पालिकामा माओवादी केन्द्रको बहुमत भएपनि मुख्य पदमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका थिए ।

लमही नगरपालिकामा पनि कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको अवस्थामा पनि तालमेलको लागि छलफल भने जारी छ । एकीकृत समाजवादी र माओवादीले मेयर पदमा दाबी नछोडेकाले सहमति हुन नसकेको बैठकमा बसेका एक प्रतिनिधिले बताए ।

उता शान्तिनगर गाउँपालिकामा भने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रलाई दिने गरी सहमति गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे