दाङमा एकैदिन ८२ जना बहालवाला जनप्रतिनिधिले दिए राजिनामा



दाङमा एकैदिन ८२ जना बहालवाला जनप्रतिनिधिले दिए राजिनामा

दाङ १० बैशाख । दाङमा एकैदिन ( शुक्रबार) ८२ जना जनप्रतिनिधिले राजिनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारीको आंकाक्षा राख्दै राजिनामा दिएका हुन । राजिनामा दिनेमा मेयर, वडा अध्यक्ष सहित ८२ जना जनप्रतिनिधिले राजिनामा दिएका छन् ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले स्थानीय तहको कुनै पनि पारिश्रमिक, सुविधा पाउने गरी लाभको पदमा नरहेको उद्घोष गर्नुपर्ने र उम्मेदवारी दिनुअघि नै राजिनामा दिनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम दाङमा पनि मेयर, वडा अध्यक्ष, सदस्य र जिल्ला समन्वय सदस्य गरी शुक्रबारसम्म ८२ जना जनप्रतिनिधिले राजिनामा दिएका हुन् ।

घोराहीमा नगरप्रमुख नरूलाल चौधरीले बिहीबार नै राजिनामा दिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । उहाका अनुसार शुक्रबारसम्म घोराहीमा अरू थप दुईजना वडा सदस्यले राजिनामा दिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ४ र १७ का वडा सदस्यले आगामी नेतृत्वका लागि उम्मेदवारी दिन राजिनामा दिएका छन् ।

यस्तै तुलसीपुरमा शुक्रबारसम्म १० वडा अध्यक्ष र १५ सदस्यले राजिनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २, ३, ४, ५, ९, १०, १५, १६, १७ र १८ नम्बर वडाका अध्यक्षले शुक्रबार राजिनामा बुझाएको अधिकृत पौडेलले बताउनुभयो ।

तुलसीपुर–२ का वडा अध्यक्ष राजु आचार्य, वडा नम्बर ३ का अध्यक्ष विजय विक, वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण राना, वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कुमार शाह, वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकाल, वडा नम्बर १० का अध्यक्ष कुमार लामिछाने, वडा नम्बर १५ अध्यक्ष लक्ष्मण चौधरी, वडा नम्बर १६ का अध्यक्ष भूपबहादुर केसी, वडा नम्बर १७ का अध्यक्ष थलराज पुरी र १८ का अध्यक्ष माधव वलीले शुक्रबार राजिनामा बुझाएको प्रमुख प्रशासकीय अधिकृत पौडलले जानकारी दिनुभयो ।

त्यस्तै लमही नगरपालिकाका एक वडा अध्यक्ष र दुई सदस्यले राजिनामा दिएको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले जानकारी दिनुभयो । गढवाका वडा अध्यक्ष र सदस्य गरी १९ जना, राप्ती गाउँपालिकाका १८, दंगीशरणका ३, शान्तिनगरका १, बबईका ४ र बंगलाचुलीका ६ जना जनप्रतिनिधिले राजिनामा दिएका छन् । बबई गाउँपालिकाका तीनजना वडा सदस्य र एकजना जिल्ला समन्वय समितिका सदस्यले राजिनामा दिएको प्रमुख प्रशासकीय अधिकृत भिष्मराज मल्ले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगर–पालिका वडा नं ५ का सदस्य सुरेश कुमार श्रेष्ठले वडा अध्यक्षमा उम्मेदवारी दिन सदस्यबाट राजिनामा दिएका छन् । शुक्रबारसम्म राजपुर गाउँपालिकाका कुनै पनि जनप्रतिनिधिले राजिनामा नदिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो।

यस्तै बबई गाउँपालिका वडा नम्बर ७ का तीनजना सदस्य देवी विक, लालबहादुर विक र रूपा रानाले शुक्रबार राजिनामा बुझाएको अधिकृत मल्लले जानकारी दिए । यस्तै जिल्ला समन्वय समितिका सदस्य जुद्धबहादुर बस्नेतले पनि आगामी नेतृत्वका लागि उम्मेदवारी दिन शुक्रबार राजिनामा बुझाएका छन् । 

प्रदेशटुडेबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे