गठबन्धनका उम्मेदवार छनाेटको विषयले पेचिलो भन्दै चितवनकाे भरतपुर महानगर
चितवन ४ बैशाख । चितवनको भरतपुर महानगरपालिका प्रमुखको लागि गठबन्धनमा उम्मेदवार छनाेटको विषयले पेचिलो बन्दै गएको छ । केन्द्रमा गठबन्धन भए पनि भरतपुर आफ्नो दलले नेतृत्व गर्न पाउनुपर्ने कांग्रेस र माओवादीको आआफ्नै अडानले थप रोचक बन्दै गएको छ ।
सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन् । जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन् ।
सात वटा पालिका रहेको चितवनमा सबैभन्दा बढी चर्चा भरतपुरको बारेमा छ । अहिले दलहरुको प्रतिष्ठाको लडाइँ चितवनको भरतपुर महानगरमा केन्द्रित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को गृहनगर भएकाले पनि भरतपुरलाई बढी चासोका साथ हेरिएको छ । भरतपुरकी बहालवाला मेयर रेणु दाहाल प्रचण्डकै छोरी हुनुहुन्छ।
गएको बुधवारमात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए । उनीहरूले त्यो निर्णय पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए ।
नेपाली कांग्रेस पार्टी माओवादीकरण भएको भन्दै भरतपुरका ५० जना कांग्रेस नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले शनिवार एक कार्यक्रमको आयोजना गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
स्थानीय अगुवा प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको छ।पूर्व वडाध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएको कँडेलले बताउनुभएको छ । पार्टी गठबन्धनका नाममा माओवादीकरण भएको उनीहरुको आरोप छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीचमा महानगर प्रमुखमा दाबी रहेको छ । नेकपा माओवादी केन्द्रले अहिले प्रमुख रहनुभएको रेणु दाहाललाई नै महानगर प्रमुख बनाउनुपर्ने माग राखेको छ । नेपाली कांग्रेसले भने विगतमा माओवादीको उम्मेदवारलाई आफूहरुले सहयोग गरेकोले यस पटक कांग्रेसलाई प्रमुख दिनुपर्ने अडान राखिरहेको छ । कांग्रेसका जिल्ला तहमा रहेका नेता कार्यकर्ताले कांग्रेसले महानगर प्रमुख नपाए स्वीकार्य नहुने बताउँदै आएका छन् ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आउँदाे पालिका चुनावमा नतिजा प्रतिकूल आए आफूहरूले जिम्मा नलिने समेत बताउँदै आउनुभएको छ । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताउनुभएको छ ।
गएको शुक्रवार चितवन आउनुभएको कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र)लाई छाड्ने गरी तालमेल हुने बताउनुभएको थियो । भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि कांग्रेसले पाउनुपर्ने जिल्ला सभापति खनालले बताउँदै आउनुभएको छ ।
चितवन कांग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवा र अन्य केन्द्रीय नेताहरुलाई जानकारी गराइसकेको छ । समयको आवश्यकताअनुसार बनेको गठबन्धनसँग तालमेल गरेर अघि बढ्ने कुरामा तयार भए पनि नाजायज तालमेल स्वीकार गर्न नसकिने चितवन कांग्रेसले बताउँदै आएको छ ।
सत्ता गठबन्धन सहयात्री नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलको गृहकार्य अगाडि बढिसक्दा भरतपुरका विषयमा निर्णय लिन निकै सकस परेको देखिएको छ ।
नेकपा एमाले चितवनले उम्मेदवार छनाेट गरिसकेको छ । एमालेका प्रभावशाली नेता विजय सुवेदीलाई महानगर प्रमुखको उम्मेदवार बनाएर चुनावी प्रचार सुरु गरिसकेको छ । कांग्रेस र माओवादी मिलेर गएको खण्डमा समेत आफूहरूले कडा टक्कर दिने चितवनका एमाले नेताहरूको दाबी छ । अघिल्लोपटक कांग्रेस र माओवादी तालमेल हुँदा बेहोरेको झिनो हारलाई उल्ट्याउन सकिनेमा एमाले नेताहरू आत्मविश्वासी देखिन्छन् ।
नेकपा एमाले चितवन पनि घरदैलो अभियानमै छ । फागुन २१ गतेदेखि ‘घरघरमा एमाले टोल–टोलमा एमाले, जनताको सुख र दुःखमा नेकपा एमाले’ नारा सहित सक्रिय रहेको एमालेले बताएको छ ।
महानगरमा जितैरे छाड्ने रणनीतिमा एमाले लागेको छ । २०७४ को पालिका चुनावमा एमाले उम्मेदवार देवी ज्ञवाली र कांग्रेसको सहयोगमा उम्मेदवारी बन्नुभएका माओवादीकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला गणनाका क्रममा मतपत्र नच्यातिएको भए आफूहरूको जित सुनिश्चित रहेको दाबी एमाले नेता/कार्यकर्ताले गर्ने गरेका छन् ।
भरतपुर–१९ को मतगणना जारी रहँदा मतपत्र च्यातिएको थियो । २९ मध्ये २७ वडाको मतगणना सकिएको थियो । १९ नम्बरको गणना जारी रहँदा ज्ञवाली ७ सय ३३ मतले अगाडि रहनुभएको थियो ।
तुलनात्मक रूपमा कांग्रेस बलियो मानिएको भरतपुर–१९ मा माओवादीलाई अपेक्षित मत नआएपछि नियोजित रूपमा मतपत्र च्यातेको आरोप एमाले नेताहरूको छ । मतपत्र च्यातिएपछि भरतपुर–१९ मा पुनः मतदान गरियो । पुनः मतदानपछि दाहाल महानगरको प्रमुखमा विजयी हुनुभएको थियो ।
भरतपुर सङ्घीय संसदमा माओवादी अध्यक्ष प्रचण्डले प्रतिनिधित्व गरिरहेको क्षेत्र हो । त्यसैले यहाँ माओवादीको लागि पनि प्रतिष्ठाको सवाल छ र प्रतिष्ठा जोगाउनकै लागि माओवादीले प्रचण्ड पुत्री रेणु दाहाललाई नै मेयर बनाउने प्रयास गरिरहेको छ । रेणुलाई मेयरमा जिताउन सके आफ्नो राजनीतिक प्रभाव कायम रहने र सङ्घीय चुनावमा प्रचण्डलाई जित्न सहज हुने माओवादीको बुझाइ छ ।
अहिले महानगरको नेतृत्व सम्हालिरहेको दल नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरपालिका आफूहरूका लागि प्रतिष्ठाको विषय भएको बताउँदै आएको छ । आफ्नो पार्टीको नेतृत्वमा सुरूआत गरेको विकासको कामलाई पूर्णता दिने विषय पनि यससँग जोडिएकोले माओवादी केन्द्रले बताउँदै आएको छ ।
गएको पालिका चुनावमा भरतपुर महानगरपालिकामा १ लाख ५० हजार २ सय ७४ जना मतदाता थिए । यसपटक यो सङ्ख्या बढेर १ लाख ८५ हजार ७ सय ५२ पुगेको छ । महानगरमा पुरुष मतदाताको सङ्ख्या ८८ हजार ८ सय ८४ र महिला मतदाताको सङ्ख्या ९६ हजार ८ सय ६७ रहेको छ । गएको चुनावमा यहाँ १ लाख ५० हजार २७४ जना मतदाता थिए । तीमध्ये १ लाख १२ हजार ८९७ जनाले मतदान गरेका थिए । यसमा एक हजार ४२४ मत बदर भएको थियो ।
कांग्रेसको सहयोगमा माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १२७ मत प्राप्त गरेर विजयी भएकी हुनुभएको थियो । प्रतिद्वन्द्वी देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको थियो । भरतपुरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वटामा कांग्रेस र तीन वटामा माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । त्यतिखेर वडाध्यक्षका उम्मेदवारले पाएको मतको हिसाबमा नेपाली कांग्रेस सबैभन्दा अगाडि थियो ।
कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले ३८ हजार १२७ मत ल्याउँदा एमालेका उम्मेदवारहरूले ३७ हजार १९५ मत प्राप्त गरेका थिए । माओवादीका उम्मेदवारले २१ हजार ११५ मत ल्याएका थिए । यसरी हेर्दा गठबन्धनका दुई दलले मात्रै गएको चुनावमा ५९ हजार २५४ मत प्राप्त गरेका थिए ।
साभार : उज्यालाे अनलाइन