चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै



चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाण्डाै २९ चैत । चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताले हिजो विश्वासको वातावरण बनाउन नेता कार्यकर्तालाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेका थिए ।

७ सय ५३ पालिकामै तालमेलका लागि भागबन्डा मिलाउन आजको बैठकमा सहमति हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनकाअनुसार हिजो र अस्तिको बैठकमा भएको छलफलका आधारमा आज तालमेलको मोडालिटी तय गरिने छ ।

मोडालिटी बनेपछि कुन दलले कहाँ नेतृत्व गर्ने भन्नेबारे निर्णय गर्न व्यावहारिक हुने उहाँको भनाइ छ । परिपक्क र विश्वासिलो तालमेल नभए प्रमुख प्रतिपक्षी दल एमालेसँग कमजोर हुने भन्दै सत्ता गठबन्धन अहिले तल्लो तहसम्मका नेता कार्यकर्तालाई बुझाउन केन्द्रित भएको छ ।

यसैबीच, ७ सय ५३ पालिकामै चुनावी तालमेल गरी भागबन्डाकाे गृहकार्य गरेपछि सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेस भित्र असन्तुष्टि बढ्न थालेको छ । डाक्टर शेखर कोइराला समूहले पार्टीको निर्णय र विधानको व्यवस्था विपरीत तालमेलको मोडालिटी तय भए कठिन हुने बताएको छ ।

केन्द्रबाट महानगरपालिकाका उम्मेदवार चयन गर्ने अधिकार भए पनि उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उम्मेदवार चयन र तालमेलको निर्णय तत्तत् निकायबाटै हुनुपर्ने कोइराला समूहको माग छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे