राप्ती गाउँपालिकाको नयाँ प्रशासनिक भवनको प्रधानमन्त्री देउवाद्वारा उद्घाटन



राप्ती गाउँपालिकाको नयाँ प्रशासनिक भवनको प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

भालुवाङ २५ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।

नवनिर्मित भवनको उद्घाटन गर्दै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सरकारको सबैभन्दा प्रभावकारी निकाय भनेको स्थानीय तह भएको भन्दै उनले स्थानीय नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे। 

स्थानीय तहले जनतालाई चुस्त र गुणस्तरीय सेवा दिन आवश्यक छ,’ देउवाले भने, ‘मलाई विश्वास छ, राप्ती गाउँपालिकाको नयाँ प्रशासनिक भवन बनेपछि सेवा थप प्रभावकारी ढंगले दिनेछ।’

नेपालको आवश्यकता भनेको स्थानीय उत्पादन वृद्धि गरि अत्यावश्यक वस्तु तथा सेवामा गाउँ ठाउँमै पहुँच विस्तार हुन जरूरी रहेको प्रधानमन्त्री देउवाले बताए।

त्यस्तै  प्रधानमन्त्री देउवाले भौतिक रूपमा आफू उपस्थित हुन नसके पनि भर्चुअल रूपमा भवन उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए। 

आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन आचारसंहिता लागेकाले प्रधानमन्त्री देउवाले भर्चुअल मिटिङमार्फत प्रशासनिक भवनको उद्घाटन गरेका हुन्। 

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत चाैधरी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार अमरबहादुर डाँगी, प्रदेश सभा सदस्यहरू रेवतीरमण शर्मा, दामा शर्मा, पुर्व संविधान सभा सदस्य सुशिला चाैधरी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, गाउँपालिकाका प्रवक्ता विद्याशरण चाैधरी, वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साथै कार्यक्रममा गाउँपालिका भित्र रहि उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई दोसल्ला र कदर पत्र सहित सम्मान गरिएको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सुचना अधिकारी विश्वास विकले गरेका थिए ।

आर्थिक वर्ष २०७६÷०७७ मा नव सिर्जनशील कौशल बस्नेत स्लेट जेभी काठमाण्डौं सँग सम्झौता गरी २०७८÷०७९ मा भवनको निमार्ण कार्य सम्पन्न भएको थियो ।

संघिय सरकारको साढे २ करोड र पालिकाको ६ करोड गरी कुल साढे ८ करोड लगानीमा ४ तल्ले प्रशासनिक भवन निमार्ण भएको हो । ४१ कोठा, २ वटा हल सहित ३ वटै तलामा महिला, पुरुष र अपाङमैत्री शौचालय तथा लिप्ट निमार्ण गरिएको इन्जीनियर अशोक बेल्वासेले जानकारी दिएका छन् ।

प्रशासनिक भवनको गत माघ १९ गते हिन्दु संस्कार अनुसार पण्डितहरु महेश खनाल र उमानन्द भट्टराईद्धारा पुजापाठ गराई गृह प्रवेश गरिएको थियो । गृह प्रवेश सँगै नयाँ भवनबाट सेवा प्रवाह समेत भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् ।

यसअघि सानो भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी र सेवाग्राहीहरुलाई सेवा लिन अप्ठ्यारो हुने गरेको थियो । साँघुरा कोठा र एउटा कोठामा २ वटा सम्म शाखा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे