राप्ती गाउँपालिकाको ४ वटा योजनाहरूको अनुगमन,
५० प्रतिशत योजना सम्पन्न



राप्ती गाउँपालिकाको ४ वटा योजनाहरूको अनुगमन,५० प्रतिशत योजना सम्पन्न

भालुवाङ २४ फागुन । राप्ती गाउँपालिकाको यस आर्थिक वर्षको स्वीकृत बजेटबाट निर्माण सम्पन्न विभिन्न योजनाहरुको सोमबार स्थलगत अनुगमन गरिएको छ ।

राप्ती गाउँपालिका अनुगमन समितिका संयोजक जगदम्वाकुमारी चौधरीको संयोजकत्वमा रहेको योजना अनुगमन टोलीले वडा नम्बर ४, ५, ७ र ८ को सम्पन्न योजनाहरुको अनुगमन गरेको हो ।

ईन्जिनियर अशोक बेल्वासे, असिस्टेन्ट सव ईन्जिनियर विमला भट्टराई, पार्वती केसी, लिलावती चौधरीको टोलीले योजनाहरुको नाप जाँचको साथ अनुगमनको क्रममा निर्माण समितिका पदाधिकारी तथा कार्यपालिका सदस्य विष्णु गुरुङ संग योजनाका बारेमा सोधपुछ समेत गरेको थियो ।

ईन्जिनियर अशोक बेल्वासेका अनुसार राप्ती गाउँपालिकामा यस आर्थिक वर्षको स्वीकृत योजनाहरु मध्य हाल सम्म ५० प्रतिशत योजना सम्पन्न भइसकेको, ३० प्रतिशत योजना निर्माणको अन्तिम चरणमा रहेको, १५ प्रतिशत निर्माणको काम सुरु भएको र ५ प्रतिशत काम गर्न निर्माण समिति वा निर्माण कम्पनी संग सम्झौता भइसकेको बताएका छन् ।

वडा नम्बर ४ को पिपरखुटी स्थित ढेब्ले खोला शेर वाल, सुन्दरपुर शिव मन्दिर तारजाली, वाल, विश्वकर्मा मन्दिर तारजाली, कल्भर्ट निर्माण, वडा नम्बर ५ को पहरुवा गल्ली स्तरउन्नती तथा नाली निर्माण, वडा नम्बर ७ को बाटो ग्राभेल, वडा नम्बर ८ को शिवघाट निर्माण, श्री नगर बौद्ध गुम्वा कोहलुवा र मिलनडाँडा स्वास्थ्य संस्था शौचालय टंकीको अनुगमन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे