एमसीसी कुनै पनि हालतमा हुबहु पारित गर्न दिदैनौ : दामा शर्मा



एमसीसी कुनै पनि हालतमा हुबहु पारित गर्न दिदैनौ : दामा शर्मा

भालुवाङ ११ फागुन । लुम्बिनी प्रदेश सभा सदस्य एवम् प्रदेश मामिला तथा कानुन समितिका सभापती दामा शर्माले आन्दोलनका बीचमा एमसीसी टेबल हुनु दुखद तथा विडम्बना भएको बताएकी छिन् । नागरिक समाज राप्ती, रेडियो राप्ती तथा राप्ती टेलिभिजन, राप्ती प्रेस मञ्च र समावेशी रेडियो राप्ती स्रोता क्लवको संयुक्त आयोजनामा बुधवार राप्ती गाउँपालिका २ लालमटियामा आयोजित एमसीसी ठिक की बेठिक विषयक खुल्ला विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।प्रमुख अतिथि समेत रहेकी शर्माले एमसीसी राष्ट्रको हितमा नभएको भन्दै यथास्थितीमा कुनै पनि हालमा हुबहु पारित गर्न नदिने बताइन् । गठबन्धनको एउटा पार्टी नेपाली कांग्रेस वाहेक अरु सवै पार्टी एमसीसीको विपक्षमा रहेको बताइन् । त्यसै गरी उनले हाम्रो देश हरेक क्षेत्रमा आर्थिक हिसावले बलियो हुँदा हुँदै देश चलाउन एमसीसी नै भित्राउन खोज्नु गलत भएको बताइन् । साथै उनले एमसीसी नियोजित तरिकाले ल्याउन खोजिएको बताउँदै सचेत रहन समेत आग्रह गरिन् । अहिले एमालेले पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा केहि नबोलेको भन्दै एमालले विपक्षमा मतदान गरे सहकार्य गर्न तयार रहेको समेत बताइन् ।नागरिक समाज राप्तीका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षमा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य वृहस्पती श्रेष्ठ, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटिका उपाध्यक्ष नारायण शर्मा, जनता समाजवादी पार्टीका संघिय परिषद सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्मा, सोही पार्टीकै जिल्ला सदस्य दुखीराम चौधरी, राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समितिका प्रतिनीधि रेशम विसी, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य सुरज परियार, सोही पार्टीका भिमप्रकाश पुन, नागरिक समाज देउखुरीका प्रतिनीधिहरु दामोदर पाण्डे, जागेश्वर शर्मा घिमिरे, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका सदस्य कृष्णराज पौडेल लगायतका वक्ताहरुले आ-आफ्नो भनाई राखेका थिए ।बोल्ने अधिकाशं वक्ताहरुले कुनैपनि हालतमा एमसीसी पारित गर्न नहुने र यसको खारेजीको माग गरेका थिए । राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीले स्वागत गर्नु भएको कार्यक्रममा विषयवस्तु बारे जानकारी रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ता, एमसीसी बारे नागरिक समाज दाङका उपसंयोजक निमबहादुर थापा र धन्यवाद ज्ञापन समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष लालमणी भुसालले गरेका थिए । भने कार्यक्रमको सञ्चालन नागरिक समाज राप्तीका सचिव ओमप्रकाश गुप्ताले गरेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो राप्ती ९८.४ मेगाहर्जले गरेको थियो भने कार्यक्रमको छायांकन राप्ती टेलिभिजनले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे