प्युठानी आइडल सिजन २ को प्रथम विजेता सरस्वती र दोस्रो विजेता शोभा हुन सफल



प्युठानी आइडल सिजन २ को प्रथम विजेता सरस्वती र दोस्रो विजेता शोभा हुन सफल

भालुवाङ ६ फागुन । प्युठानी आइडल सिजन २ को उपाधी प्युठान बाग्दुला कि सरस्वती जिएमले हात पारेकी छिन् । जि.एम प्रोडक्सन हाउसको आयोजनामा प्युठानी आइडल सिजन २ को शुक्रबार भालुवाङ राप्ती पुल पारि होटल इभरल्याण्डमा भएको फाइनल प्रतियोगितामा सरस्वतीले उक्त उपाधी हात पारेकी हुन् ।

सरस्वतीले १ सय ३० जनालाई पछि पार्दै १५ जना संग फाइनल प्रतिस्पर्धा गरेकी थिइन् । त्यस्तै उनले सो प्रतियोगिता मार्फत नगद ५० हजार सहित सर्ट मुभी खेल्न पाउने भएका छिन् ।

यसैगरी सो प्रतियोगितामा प्युठान सारंग बेसीकी शोभा मगर दोस्रो भएकी छिन् । उनले नगद २५ हजार र म्युजिक भिडियो खेल्न पाउने भएकी छिन् । त्यस्तै प्युठान जुम्रीका अर्जुन भण्डारी तेस्रो भएका छन् । उनले नगद १५ हजार र म्युजिक भिडियो खेल्न पाउने आयोजकले बताएको छ ।

“नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान” भन्ने मुल नाराका साथ फाइनल प्रतियोगिता कार्यक्रमको भएको थियो । उक्त कार्यक्रमको निर्णायकमा अनुप बुढा, दिपेश चौधरी, सुस्मिता ब्रोमेल रहेका थिए । १३० जना प्रतियोगीहरु मध्ये विभिन्न चरणहरु पार गरि १५ जना फाइनल कार्यक्रममा प्रवेश गरेका थिए ।

जसमा स्वस्तिका रामजाली, नेहा परियार, शोभा मगर, रबिना बिक, शतिस सुनार, अर्जुन भण्डारी, मुन्नी घर्ती, पुजा ग्रुप, शुभम ग्रुप, सबिना जि.एम, अलिशा, अलिजा ग्रुप, सरस्वती जि.एम, अनुशा पराजुली, तिर्सना रावत, सोनिया परियारले कडा प्रतिस्पर्धा गरेका थिए ।

सो प्रतियोगिता प्युठानको जनता माध्यमिक विद्यालय बडडाँडा,भवानीश्वरी बासिक विद्यालय जसपुर, अम्मर माध्यमिक विद्यालय भिङ्ग्री, कालिका माध्यमिक विद्यालय जुम्री, महेन्द्र माध्यमिक विद्यालय सारङबेसी गरि ५ वटा विद्यालयमा कार्यक्रम भएको थियो ।

जि.एम प्रोडक्सन हाउसका अध्यक्ष राज थापाको अध्यक्षता एवम् अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुकेश आले मगरको प्रमुख आतिथ्यता तथा अस्थायी प्रहरी चौकी सातमारा अर्घाखाँचीका प्रहरी इन्चार्ज सुर्य पन्थीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि आलेले प्युठान जिल्लाको प्रत्येक बस्तीमा लुकेर रहेका प्रतिभाहरुलाई यहाँसम्म ल्याउनु ठुलो उपलब्धि रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका जिल्ला सदस्य शिवराज खनाल, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता, सिधा-पत्र डटकमका संचालक मेगमन बुढा लगायतकाले बोलेका थिए ।

कार्यक्रममा लोक दोहोरी गायक कृष्ण रेउले लगायत अन्य प्युठानी कलाकारको सहभागीता रहेको थियो । भने कार्यक्रमको संचालन जिएम प्रोडक्सन हाउसका डाइरेक्टर दिपक बर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे