पालिकाको चुनाव निर्धारित मितिमै हुनुपर्नेमा कानुुनविद्हरुकाे एक मत



पालिकाको चुनाव निर्धारित मितिमै हुनुपर्नेमा कानुुनविद्हरुकाे एक मत

काठमाण्डाै ८ माघ । कानूनविद्हरुले पालिकाको चुनाव निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् । शनिवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरुले सरकारले पालिकाको चुनाव संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले स्थानीय पालिका चुनाव ऐन प्रदेशसभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए । उनले पालिकामा चरणको कुनै कुरा नै नभएकोले यो पालिकामा ल्याउनु भनेको प्रदेशसभा चुनाव ऐन कपी पेस्ट गर्नुको परिणाम भएको बताए । वरिष्ठ अधिवक्ता महतोले एकै पटक चुनाव गर्ने नाउँमा सात वटा प्रदेशसभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको पनि प्रष्ट पारे ।

‘यो भन्दा अघि जुन जुन मितिमा चुनाव भएको थियो त्यही मितिमा पालिकाको चुनाव गरिनुपर्छ । ता कि संविधान र कानूनको मर्म, जुन ५ सालको जीवन छ पालिकाको’  वरिष्ठ अधिवक्ता महतोले भने, ‘हरेक सथानीय तहलाई ५ वर्षको ग्यारेन्टी छ ।

असारमा चुनाव भएको छ भने असारमा ५ वर्ष पुग्छ, वैशाखमा भए वैशाखमा । तीन तहको चुनाव एकैपटक त्यो कसरी सम्भव होला ? हरेक प्रदेशसभा स्वायत्त छन् । उनीहरुको ५ वर्षको अवधि छ, त्यो ५ वर्षलाई संघीय सरकारले घटाउन सक्छ ? विघटन गर्न सक्छ ? एकै पटक चुनाव गर्ने नाममा सात वटा प्रदेशसभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग छैन ।’

यस्तै कार्यक्रममा कानूनविद् डा. सुरेन्द्र भण्डारीले अहिलेको चुनाव प्रणाली पैसा, गुण्डा र छलकपटमा नै आधारित भएको भन्दै नेपालमा संसदीय चुनाव प्रणाली असफल भएको दाबी गरे । उनले शंकटको समयमा मात्रै संसद र प्रदेशसभाको चुनाव वर्ष दिनसम्म लम्ब्याउन पाइने उल्लेख गर्दै अहिले शंकट नभएकोले समयमै चुनाव गराउनु पर्नेमा जोड दिए । उनले चुनाव लम्ब्याउने कुरा नगरी यथास्थितीमा नै चुनाव गराउनु पर्ने बताए ।

‘संघीय संसद र प्रदेशसभाको चुनाव शंकटकालीन अवस्था आएमा एक वर्षसम्म लम्ब्याउन पाइन्छ । अहिले देशमा शंकट आएको छैन, त्यसैले यसलाई लम्ब्याउने कुनै पनि किसिमको षड्यन्त्र वा त्यस किसिमको सोचहरु प्रत्युत्पादन हुन्छन्’ कानूनविद् भण्डारीले भने, ‘पालिकाको समयावधि सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्छ । तर त्यो ६ महिना किन राखिएको हो भने अवधि सकिन्छ अनि ६ महिनामा गरौँला भनेर होइन, विशेष परिस्थिती पर्यो, गर्न नसकिने अवस्थामा परेपछि हो ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले तीन तहको चुनाव एउटै चरणमा गर्न व्यवस्थापकीय दृष्टिकोणबाट पनि सम्भव नभएको भन्दै एउटै मितिमा चुनाव गर्न नमिल्ने बताए । उनले एकै चरणमा तीन तहकै चुनाव गरिनुपर्छ भन्ने कुरा कपटपूर्ण र लोकतन्त्रविरुद्धको षड्यन्त्र भएको आरोप लगाए ।

‘यी तीन तहको चुनाव एउटै मितिमा किन सम्भव छैन भने पहिला एउटै मितिमा चुनाव भएको थिएन । यसको कार्यकाल फरक मितिमा शुरु भएकोले अहिले एउटै मितिमा चुनावको कुरा हामी नगरौँ’ वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘यसै पनि तीन तहको चुनाव एउटै चरणमा व्यवस्थापकीय दृष्टिकोणले, पनि सजिलो छैन । हामीले एकै तहको चुनाव त एउटै मितिमा गर्न नसकेर स्थानीय चुनाव नै कतिपटक तीन पटकमा गरेका छौँ । संसदको चुनाव पनि विभिन्न चरणमा गर्नुपरेको छ ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता डा. खिमलाल देवकोटाले पालिकाको चुनाव समयमै गर्ने बताए । उनले अहिले सबै दल र आम नागरिकहरु पालिकाको चुनाव गर्नुपर्ने भनेर लागिरहेकोले त्यसमा कुनै संशय नगर्न पनि आग्रह गरे । नेता देवकोटाले यसअघि प्रतिनिधिसभाको चुनाव र प्रदेशसभाको चुनाव एकै पटक गरिएको भन्दै यसपटक पनि त्यसलाई सँगै लिएर जाने कुराको बहस गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे