सत्ता गठबन्धनको बैठक आज बस्दै, चुनावको मिति घोषणा गर्नैपर्ने दबाब



सत्ता गठबन्धनको बैठक आज बस्दै, चुनावको मिति घोषणा गर्नैपर्ने दबाब

काठमाण्डाै ४ माघ । पालिका चुनावको मिति घोषणा गर्न चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज सत्तारुढ गठबन्धनको बैठक बाेलाएका छन् ।सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो भेट गरेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बाेलाएका हुन् ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, प्रमुख प्रतिपक्ष एमाले, पालिकाका प्रतिनिधिले खबरदारी गर्दै आएका छन् ।

वैशाखमा चुनाव गर्नको लागि यसै हप्ताभित्र मिति घोषणा गर्नुपर्ने दबाब बढेपछि सत्तारुढ गठबन्धन दल छलफलमा जुट्न लागेका हुन् । हिजोको छलफलमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड वैशाखमै चुनाव गर्न सहमत भएको नेताहरुले बताएका छन् । पालिका निर्वाचन ऐनमा सरकारले दुईभन्दा बढी चरणमा चुनाव गर्न सक्ने तर पहिलो चरणको मितिलाई चुनाव सम्पन्न भएको मानिने उल्लेख छ । यस्तै ऐनमा गाउँसभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि अर्को चुनाव हुने उल्लेख छ ।

पालिका निर्वाचन ऐन अनुसार, जति चरणमा निर्वाचन भए पनि पहिलो चरणको चुनाव भएको ७ दिनपछि कार्यकाल सुरु भएको मानिने भएकाले पालिकाका पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ जेठमा सकिने निर्वाचन आयोगको व्याख्या छ । २०७४ मा वैशाख ३१, असार १४ र असोज २० मा गरी तीन चरणमा चुनाव भएको थियो । संविधानले स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल थप्ने परिकल्पना नगरेकाले वैशाखमै चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे