देउखुरीको धार्मिक पर्यटकीय क्षेत्र जंगलकुटीकाे जग्गा बेच्ने दाउ
देबेन्द्र बस्नेत, देउखुरी ४ कार्तिक ।
देउखुरीकाे गढवा गाउँपालिका वार्ड नम्बर ३ गाेबरडियामा रहेकाे धार्मिक तथा पर्यटकीय क्षेत्र जंगलकुटी मन्दिरको झण्डै १५ बिघा जग्गा ब्यक्ति बिशेषले बिक्री वितरणको प्रकृया थालेका छन्। उक्त धामको झण्डै १५ बिघा मन्दिरका महन्थ तथा उनका तीन छोराहरुले बिक्रीका लागि कागज गरिसकेको र मालपोतबाट पास हुन मात्रै बाँकी रहेको स्थानीयले बताएका छन्।
धामका पुजारी देबीसिङले समेत उक्त जग्गा बिक्री भैसकेको र पास हुन मात्रै बाँकी रहेको बताए। ‘मेरा तीन छोरा र मेरो नाममा रहेको जग्गा बिक्री भैसकेको हो, बयाना पनि बुझिसकेका छौँ,’ उनले भने ‘यो जग्गा बिक्री गर्नु पर्छ भनेर केहि ब्यक्तिले सल्लाह दिए अनि बिक्री गरेका हौँ।’ यो जग्गा सुरु देखिनै मन्दिरको पुजारीहरुको नाममा रहँदै आएको थियो।
जंगलकुटि थारु समुदायको पवित्र धार्मिकस्थल हो। अहिले यो देउखुरीकै पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिँदै आएको छ। आफ्नो पवित्र धार्मिक थलोलाई त्यस क्षेत्रका थारु समुदायले पुस्तौँदेखि संरक्षण तथा प्रवर्धन गर्दै आएका थिए। यो धाममा सुरुमा बाघनाथ बाबा भनेर चिनिएका एक पुजारी थिए। जानकारहरुका अनुसार त्यो बेला उनै बाघनाथ बाबाले मन्दिरको थैलीबाट केहि जमिन जोरजाम गरे भने स्थानीय एक महिलाले पवित्र धार्मिक स्थललाई २५ बिघा जग्गा दान गरेकी थिईन्।
‘मेरो हजुर आमाले उक्त मन्दिरका नाममा २५ बिघा जग्गा दान गर्नु भएको थियो,’ स्थानीय राजेन्द्र चौधरी भन्छन् ‘यो सहित मन्दिरका महन्थले मन्दिरको थैलीबाट खरिद गरेको गरि करिब ७५ बिघा जमिन जंगलकुटीका लागि जोडिएको थियो।’ तर यो बेला उक्त मन्दिर दर्ता थिएन। फलतः उक्त जग्गा मन्दिरको नाममा दर्ता हुन सकेन। अनि स्थानीयहरुको सहमती बमोजिम उक्त जग्गा मन्दिरको नाममा दर्ता नहोउन्जेलसम्मका लागि महन्थकै नाममा पास गर्ने भयो। ‘त्यो बेला मन्दिर दर्ता थिएन, अनि मन्दिरको नाममा जग्गा दर्ता हुन सकेन,’ राजेन्द्र भन्छन् ‘मन्दिरको नाममा पछि दर्ता गर्ने सहमती बमोजिम मन्दिरको पुजारी जो छ उसैको नाममा पास गर्ने सहमती भएको थियो।’
मन्दिरका सुरुका पुजारी बाघनाथ बाबाको देहान्त भयो। अनि मन्दिरमा अर्कि एक महिला पुजारी बनेर मन्दिरमा भित्रिईन्। बाघनाथ बाबाको नाममा दर्ता भएको जग्गा ति महिलाको नाममा नामसारी भयो। बाघनाथ बाबाको देहान्त पश्चात मन्दिर भित्रिएकी ति महिला पुजारीबाटै उक्त जग्गामा खराब नजर लाग्न थाल्यो। ति महिला पुजारीले आफ्ना छोरी ज्वाईँको नाममा जग्गा पास गरिदिईन्। ‘महिला पुजारी आएपछि मन्दिरको जग्गा आफ्ना ज्वाईँको नाममा नामसारी गरिदिईन्,’ अर्का स्थानीय हरिशचन्द्र चौधरीले भने। ति महिला पुजारीको पनि निधन भएपछि मन्दिरमा मोहनदास नाम गरेका अर्का पुजारी भित्रिए। महिला पुजारीका ज्वाईँका नाममा पास भएको उक्त जग्गा तत्कालीन मन्दिर संरक्षण समितिले मोहनदासको नाममा पास गरायो। उनले आफ्ना कान्छा छोरा देबीसिङ (हालका पुजारी) का नाममा उक्त जग्गा पास गरिदिए। देबीसिङले आफूसहित तीन छोराको नाममा जग्गा भागबण्डा गरेर पास गरिदिएको स्थानीयको दाबी छ।
उक्त जग्गा अहिले देविसिङसहित उनका तीनै छोरा यो जग्गा बिक्रीको अन्तिम चरणमा छ। मन्दिरका पुजारीका अनुसार जग्गा यो जग्गा बिक्री वितरणमा केहि उच्च ओहदाकै व्यक्तिहरु समेत संलग्न रहेको बताए। ‘तपाईहरुले जग्गा बिक्री गर्नुपर्छ भनेर मलाई केहि ठूलै मान्छेले भने,’ उनले भने ‘चल्तीको मूल्य भन्दा यो जग्गामा सस्तो मूल्य लागेको छ।’ तर यो भन्दा अगाडीका पुजारीका पालामा जग्गाको पोत समेत नतिरेका कारण जग्गा अव्यवस्थित बनेको र आफूहरुले उक्त जग्गा खरिद गरेको दाबी बिक्रीकर्ताहरुको छ। ‘यो जग्गा अघिल्ला पुजारीको ज्वाईँसंग मैले नगद हालेर किनेको हो,’ पुजारी देबीसिंले भने ‘मैले मेरो जग्गा बिक्री गर्न किन नपाउने?’
यो मन्दिर दर्ता भैसकेपछि ब्यक्तिको नाममा पास हुँदै आएको जग्गा मन्दिरकै नाममा दर्ता गर्ने प्रकृया मन्दिर संरक्षण समितिले थालेको थियो। यसअघिको मन्दिर संरक्षण समितिका अध्यक्ष समेत रहेका राजेन्द्र चौधरीले भने ‘तर प्रकृया हुँदै थियो, मेरो कार्यकाल सकियो, अनि दर्ता प्रकृया थाँती रह्यो।’ मन्दिरको जग्गाका बारेमा जानकारहरुले सुरुमा यो मन्दिरको नाममा रहेको जग्गा झण्डै ७५ बिघाको हाराहारीमा रहेपनि पछि घटेर १६ बिघासम्म झरेको बताउँछन्। तर यो जग्गा मोहि समेत लागेको भन्दै मोहि कट्टी गर्दा जग्गा घटेको तर्क पनि गरिएको छ। यो जग्गा लीजमा लिएको दाबी गर्ने प्रकाश महरा भन्छन् ‘०५५ मा यो जग्गाको मोहि कट्टा गरिएको हो।’ उनले भने उक्त जग्गा बिक्री नभएको दाबी गरे। ‘मैले २० वर्षका लागि जग्गा लीजमा लिएको हो,’ प्रकाशले भने ‘तर बिक्री गरेको भन्ने कुरा गलत हो।’
किसान रुष्ट
जंगलकुटको यो जग्गा त्यहाँका किसानहरुले उपभोग गर्दै आएका छन्। उनीहरुले उक्त जग्गा बिक्री गर्न लागेको बिरोध गरिरहेका छन्। धार्मिक संस्थाको जग्गा ब्यक्ति बिशेषले बिक्री गर्न नपाउने भन्दै उनहिरुले आफूहरुले उपभोग गरिरहेको जग्गामा आफूहरुको पनि अधिकार किन नरहने त ? भन्ने प्रश्न तेस्र्याएका छन्। ‘हामी थारु समुदायहरुको पवित्र धार्मिकस्थलको जग्गा कोहि ब्यक्ति विशेषले पुजारी भएकै आधारमा बिक्री गर्न पाउने? अनि हामीहरुले वर्षौँदेखि जोतभोग गर्दै आयौँ, हामीहरुको अधिकार झन किने नहुने त ?’एक किसानले भने ‘तर हामीहरु जग्गा पाउनु पर्छ भन्ने भन्दा पनि यो जग्गा जोगियोस् भन्ने पक्षमा छौँ।’
साभार – नागरिक दैनिक