एमाले महाधिवेशनमा आज देखि बन्द सत्रको कार्यक्रम सुरु हुँदै



एमाले महाधिवेशनमा आज देखि बन्द सत्रको कार्यक्रम सुरु हुँदै

काठमाण्डौं ११ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

बन्द सत्रमा विधान संशोधनको विषयमा छलफल नगर्ने निर्णय गरेको एमालेले पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेपछि यसलाई पारित गर्न पुनः विधान संशोधनको विषयमा पनि छलफल गर्ने भएको छ । यस्तै, आज नै बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको निर्वाचन समितिले बनाएको छ । आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोली मतदान गर्ने कार्यक्रम तय भएको छ ।

यसै बिच एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास भएको छ । सौराहामा आज सुरु हुने बन्द सत्रअघि गएराति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्या थप्ने लगायतका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
यस अनुसार अबको कमिटीको आकार ३०१ सदस्यीय बन्नेछ ।

गएको असोजमा काठमाण्डौको गोदावरीमा भएको विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । विधान महाधिवेशनले पारित गरेको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थाबाट अब १९ सदस्यीय पदाधिकारी सहितको हुनेछ । अब नेकपा एमाले ३०१ केन्द्रीय सदस्यीय रहनेछन् । यस्तै ९९ जना पोलिटब्युरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहनेछन् । साथै १९ जना पदाधिकारी हुने ओलीको प्रस्ताव पारित भएको छ । जसमध्ये १ अध्यक्ष सहित १ वरिष्ठ उपाध्यक्ष र ६ अरु उपाध्यक्ष रहनेछन् । साथै १ महासचिव र ३ उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहने छन् ।

अब एकै पदमा तीन पटकसम्म उम्मेदवार बन्न पाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ । यसअघि गोदावरी विधान महाधिवेशनले दुई पटकसम्म मात्रै उठ्न पाउने व्यवस्था गरेको थियो । यसैबीच सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भइरहँदा उपाध्यक्ष भीम रावलले भने अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहने बताउका छन् । बन्द सत्र सुरु भएपछि उम्मेदवारी दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे