मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिने



मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिने

काठमाण्डाै ८ मंसिर । सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको भाेलि बिहीवार बस्ने पूर्ण बैठक (फूल कोर्ट) ले यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गर्नेछ ।

सर्वोच्च अदालतका १९ जना न्यायाधीशको आज बुधवार बसेको अनौपचारिक बैठकले सर्वोच्च प्रशासनसँग सहमति गरी पूर्ण बैठक बस्ने र गोला प्रक्रियाबाट सुनुवाइ गर्ने तय गरेको हो । सर्वोच्च अदालतका १९ न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एसाेसिएशनका प्रतिनिधिसँग आउँदा दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्ने तयारीसमेत रहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको यही मङ्सिर २ गते बिहीवारको ‘फूल कोर्ट’ ले गोला प्रक्रियासहित नियमावली पास गर्ने निर्णय गरेको थियो । याे निर्णय गएकाे सोमवार राजपत्रमा प्रकाशित समेत भइसकेको छ । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसाेसिएशनको पनि थियो । अब त्याे माग पूरा हुने भएको छ ।

सर्वोच्च अदालतमा गएकाे कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमित इजलास बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे