आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना



आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना

काठमाण्डाै ३ मंसिर । देशका धेरै ठाउँको मौसम बद्ली भएकाे छ। आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन्। वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिए।

बिहान काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि फाट्टफुट्ट पानी परेको थियो। यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा आज  पनि हिमपात हुने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी  दिए । उनका अनुसार हिजोदेखि नै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र भोली पनि हिमपात हुने सम्भावना रहेको उनले बताए । नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको प्रभावले देशका धेरैजसो ठाउँमा चिसो बढ्ने क्रममा रहेको छ ।

काठमाण्डौको न्यूनतम तापक्रम आज नघटे पनि मौसम बद्लीएकाले चिसो महसुस भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव १  डिग्री सेल्सियस छ । मौसम बद्ली भएकाले अधिकतम तापक्रम भने आज पनि घट्ने सम्भावना छ।

पर्सि आइतवारदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । यस्तै, मौसमविद्ले पर्वतारोहणमा जाँदा मौसमको अवस्थाबारे जानकारी राख्न सुझाव दिएका छन्। हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जानु अघि मौसमको अवस्थाबारे बुझ्न उनीहरुले सुझाव दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे