नेपाल बारकाे आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण



नेपाल बारकाे आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण

काठमाण्डाै २ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बार एसोसियशनको अगुवाइमा भइरहेको आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनका क्रममा आज बिहीवार प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएशनका केही व्यक्ति घाइते भएका छन् । आजको प्रदर्शन अवलोकन गरेको मानव अधिकार आयोगले विना हातहतियार शान्तिपूर्वक भेला हुने तथा स्वतन्त्र रूपमा विचार तथा अभिव्यक्ति राख्न पाउने हकको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कानुन व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन विपरीतको कार्य भएकाे आयाेगले भनेकाे छ ।

यस्तै शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीहरूमाथि अनावश्यक बल प्रयोग नगर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न तथा घटनाको छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले नेपाल सरकारसँग आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे