अविरल वर्षाले दाङमा ६९ करोड बढीको धान नोक्सान, कुन पालिकामा कति नोक्सान ?



अविरल वर्षाले दाङमा ६९ करोड बढीको धान नोक्सान, कुन पालिकामा कति नोक्सान ?

दाङ १६ कार्तिक। असोज ३१ गते रातीदेखि परेको अविरल वर्षाले दाङमा ६९ करोड बढीको धान नोक्सान भएको छ। कृषि ज्ञान केन्द्र दाङका प्रमुख बुद्धिराज घिमिरेका अनुसार जिल्लाका १० पालिकामा गरी ६९ करोड १७ लाख ६ हजार २ सय २५ रुपैयाँ बराबरको धान वर्षाले नाक्सोन गरेको हो ।

दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धानवालीको खेति गरिन्छ । जसमध्ये बेमौसमी वर्षा हुँदा ८ हजार ९ सय ९८ हेक्टरको धानमा क्षति पुगेको छ। यो क्षति कुल क्षेत्रफलको २२ दशमलव ८३ प्रतिशत रहेको ज्ञान केन्द्रका प्रमुख घिमिरेले बताए।

यसरी सबै भन्दा धेरै क्षति बेहोर्नेमा घोराही उपमहानगरपालिका रहेको छ। २ उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका रहेको दाङमा घोराही उपमहानगरपालिका अन्य पालिका भन्दा धेरै क्षेत्रफलमा धान खेति पनि हुने गरेको छ।

घोराहीमा ८ हजार ३ सय २० हेक्टरमा धान खेति गरिएकोमा वर्षाले १ हजार ९ सय ५८ हेक्टरमा क्षति गरेको छ। जसबाट घोराहीमा मात्र १५ करोड १८ लाख ७ सय बराबरको धान नोक्सान भएको छ।

यस्तै तुलसीपुरमा २ सय ७५ हेक्टरको धानमा क्षेति हुँदा २ करोड १३ लाख १२ हजार ५ सय बराबरको धान नोक्सान भएको छ। यहाँ ६ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेति हुने गर्छ ।

लमही नगरपालिकामा १ हजार ४ सय ३२ हेक्टरको धानवाली क्षति भएको छ। जसबाट १२ करोड ५३ लाख बराबरको धान नोक्सान भएको छ। दाङमा घोराही पछि लमही नगरपालिकामा बढी धान नोक्सान भएको कृषि ज्ञान केन्द्रका प्रमुख घिमिरेले बताउनुभो ।

त्यसैगरी उहाँका अनुसार राजपुर गाउँपालिकामा ८ सय ७५ हेक्टरको धानवाली क्षति हुँदा ५ करोड ४१ लाख ६८ हजार ६ सय ७५ रुपैयाँ बराबरको धान नोक्सान भएको छ।

यस्तै गढवामा ९ सय १९ हेक्टरको धानवाली क्षति हुँदा ७ करोड २७ लाख २० हजार बराबरको धान नोक्सान भएको छ।

त्यस्तै राप्तीमा ७१ हेक्टरको धानवाली क्षति हुँदा ५५ लाख ६४ हजार ५ सय बराबरको धान नोक्सान भएको छ । दाङमा सबैभन्दा कम क्षति भएको पालिका राप्ती नै हो ।

बंगलाचुली गाउँपालिकामा १ हजार ६९ हेक्टरको धानवाली क्षति हुँदा ८ करोड ३६ लाख २२ हजार ५ सय बराबरको धान नोक्सान भएको छ। त्यस्तै ढंगीशरण गाउँपालिकामा १ हजार १ सय २३ हेक्टरको धानवाली क्षति हुँदा ८ करोड ६४ लाख ९० हजार बराबरको धान नोक्सान भएको छ।

शान्तिनगरमा ७ सय ६१ हेक्टरको धानवाली क्षति हुँदा ५ करोड ९० लाख २ हजार ३ सय बराबरको धान नोक्सान भएको छ।

र बबई गाउँपालिकामा ५ सय २ हेक्टरको धानवाली क्षति हुँदा ३ करोड १७ लाख १८ हजार ७ सय ५० रुपैयाँ बराबरको धान नोक्सान भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख घिमिले जानकारी दिए ।

सूचनाको कमी र अटेरीले गर्दा क्षति धेरै
असोज महिनाको अन्तिमतिर ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी बनाएपनि गाउँका किसानसम्म सूचना नपुग्दा धानवालीमा ठूलो क्षति भएको सरकारवालहरुको बुझाई छ।

धेरै किसानहरुले पानी पर्नेेबारे जानकारी नपाएको कुरा बताएको धानको क्षति विवरण संकलन गर्न पुगेकी कृषि ज्ञान केन्द्रकै कर्मचारी देवा महराको भनाई छ। ‘वर्षाले किसानको धेरै धानवालीमा क्षति पु¥याएको छ ।

जसमा किसानसम्म मौसम पूर्वानुमान बारे जानकारी नभएको भन्ने कुरा धेरै छ ।’ बेमौसमी वर्षाले खाद्य तथा आवासमा पारेको असर विषयक अन्तरक्रियमा उनले भने ।

त्यस्तै कतिपयले मौसम पूर्वानुमानका बारेमा जानकारी हुँदा हुँदै पनि अटेरी गरेर धान काट्दा बढी धान नोक्सान भएको घोराहीका नगरप्रमुख नरुलाल चौधरीको बुझाई छ।

उहाँले भन्नुभयो, ‘मैले कतिपयलाई पानी पर्ने छ । धान नकाट्न भने । उनीहरुले मानेन् । अनि पानी प¥यो नोक्सान भयो ।’ मेयर चौधरीले व्यङ्ग्य गर्दै अल्छि गर्नेको बरु धानवालीमा क्षति नभएको उल्लेख गरे ।

उहाँले अब परिस्थिति अनुसारको खतिपाती गर्नु पर्ने पनि धारणा राखे। ‘हिजो मैले नै टनेल बाहिर टमाटर रोप्दा लटरम्म फल्थ्यो । अब फल्दैन त । त्यसैले परिस्थिति अनुसारको खेति गर्नुपर्छ।’ चौधरीको भनाई छ। धानवालीमा ठूलो क्षति भएको भन्दै किसानलाई सरकारले उचित राहतको व्यवस्था गर्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे