मोतीपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई राहतको घोषणा



मोतीपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई राहतको घोषणा

रुपन्देही २६ असाेज । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागि ज्यान गुमाउने व्यक्तिका परिवारलाई जिल्ला प्रशासन कार्यालय र लुम्बिनी प्रदेश सरकारले राहत रकमको घोषणा गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले मृतकको हकमा प्रति मृतक ५० हजार रुपैयाँ किरिया खर्च र प्रति परिवार पाँच लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । यस्तै लुम्बिनी प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।

यस्तै घाइतेको निःशुल्क उपचारका लागि प्रदेश सरकार समक्ष सिफारिस गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु आज मङ्गलवार राति १२ बजेदेखि हट्ने भएको छ । गएकाे आइतवार मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणकारी र प्रहरीबीच झडप हुँदा चार जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु लगाएको थियो । कार्यालयले आज विज्ञप्ति निकालेर राति १२ बजेदेखि लागू हुने गरी कर्फ्यु हटाइएको र निषेधित क्षेत्र भने यथावत् नै रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे