एमाले सांसदको अवरोधकै बीच प्रतिनिधिसभामा महालेखा परीक्षकको प्रतिवेदन पेस



एमाले सांसदको अवरोधकै बीच प्रतिनिधिसभामा महालेखा परीक्षकको प्रतिवेदन पेस

काठमाडौँ  १४ असोज । प्रतिनिधि सभाको बिहीवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच महालेखा परीक्षकको प्रतिवेदन पेस भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेस गरे ।

बैठक सुरु हुनासाथ सधैँझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरोध नगरिकन सदनको काम कारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरे । उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधि सभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराएका थिए ।

अवरोधकै बीचमा सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजी र विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाए । प्रमाणीकरण गरिएको विधेयकहरूमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ छन् । नेकपा एमालेले अधिवेशन सुरु भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गरिराखेको छ । प्रतिनिधि सभाको अर्को बैठक यही असोज १९ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे