संविधान दिवसमा घोराहीबाट ५ जना र तुलसीपुर कारागारबाट ७ जना गरी १२ कैदीबन्दी रिहा



संविधान दिवसमा घोराहीबाट ५ जना र तुलसीपुर कारागारबाट ७ जना गरी १२ कैदीबन्दी रिहा

दाङ ३ असोज । संविधान दिवसको अवसरमा दाङबाट १२ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ । घोराही कारागारबाट ५ जना र तुलसीपुर कारागारबाट ७ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको हो । घोराहीमा तीन जना कर्तव्य ज्यान, एक जना सवारी ज्यान र एक जना हातहतियार तथा खरखजनाका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको जेलर युवराज परियारले जानकारी दिए ।

घोराही कारागारमा अहिले ३ सय २५ जना कैदीबन्दी रहेका छन् । यस्तै तुलसीपुर कारागारबाट ६ जना कर्तव्य ज्यान मुद्धा र एक जना चोरी मुद्धाका कैदी बन्दी रिहा भएका छन् । कारागारमा अहिले एक जना महिला र तीन जना बालबालिकासहित ४९० जना कैदीबन्दी रहेको जेलर बिष्णप्रसाद पाण्डेले जानकारी दिए । सरकारले हरेक विभिन्न दिवसको अवसरमा असल आचरण, ५० प्रतिशत कैद भुक्तान गरिसकेका केदीबन्दीलाई रिहा गर्ने गरेको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५ सय २३ जनाको कैद कट्टा गर्नुभएको छ । कैद माफी र कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष गएको भदौ २९ गते सिफारिस गरेको थियो । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे