संविधान दिवसमा भारतका प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनद्वारा शुभकामना



संविधान दिवसमा भारतका प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनद्वारा शुभकामना

काठमाडौं ३ असोज । नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन् ।

संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता-जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उनले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरेका छन् ।

अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा दोहोर्‍याएका छन् ।

ओजपूर्ण एवम् बहुआयामिक साझेदारीको माध्यमबाट शान्ति र समृद्धि हासिल गर्ने दुवै देशका जनताको साझा लक्ष्यका निम्ति भारत र नेपालबीचको सुदृढ पारस्परिक सम्बन्धलाई थप गति दिन प्रधानमन्त्री देउवासँग निकटमा रहेर सहकार्य गर्न आफू प्रतीक्षारत रहेको प्रधानमन्त्री मोदीले बताएका छन् ।

यता नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबार एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

दुवै देशका जनताको हितमा हाम्रो सम्बन्ध अघि बढ्ने र त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने विश्वास पनि राष्ट्रपति पुटिनले सन्देशमा व्यक्त गरेका छन् । उनले राष्ट्रपति भण्डारीको सुस्वास्थ्य सफलताका साथै नेपाली जनताको शान्ति र हितको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे