आज ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै : अझै २३ जिल्ला साक्षर घोषणा गर्न बाँकी



आज ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै : अझै २३ जिल्ला साक्षर घोषणा गर्न बाँकी

काठमाण्डाै २३ भदाै । आज ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम हुँदैछन् ।

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नागरिकलाई साक्षर बनाउनु सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । उहाँले कोरोना महामारीकैबीच पनि दिगो विकासको लक्ष्य हासिल गर्न साक्षर अभियान निरन्तर अगाडि बढाइरहेको उल्लेख गरेका छन् ।

अहिलेसम्म नेपालका ५४ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । झण्डै ६८ प्रतिशत नेपाली नागरिक साक्षर रहेको पछिल्लो तथ्याङ्क छ । अझै २३ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । काठमाण्डौसहित ताप्लेजुङ, सोलुखुम्बु, सप्तरी, सिराहा, धुनषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलबस्तु, बाँके, मुगु, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

कोरोना भाइरसको जोखिमका कारण अभियान प्रभावकारी हुन नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । सरकारले साक्षरता अभियान घोषणा गरे पनि यसलाई प्रभावकारी बनाउन नसकेको शिक्षाविद्को टिप्पणी छ । व्यक्तिलाई पूर्ण साक्षर नबनाइ घोषणा गर्दा निरक्षर नागरिकको संख्या बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे