चौकीदारलाई हटाउन माग गर्दै नख्खु कारागारका कैदीबन्दी आन्दोलनमा



चौकीदारलाई हटाउन माग गर्दै नख्खु कारागारका कैदीबन्दी आन्दोलनमा

काठमाण्डाै २० भदाै । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरुले नाराबाजी र प्रदर्शन गरेका छन् । उनीहरुले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका हुन् ।

रासनमा घोटाला गरेको, टेलिफोन सुविधा सहज नबनाएको, सरकारले दिने अन्य सुविधामा पनि आफ्नो मनोमानी गरेको भन्दै कैदीहरुले चौकीदारहरु विरुद्ध प्रदर्शन गरेको ललितपुर प्रहरीले जनाएकाे छ । कैदीहरुले चौकीदारलाई हटाउनु पर्ने माग राख्दै निवेदन समेत दिएका छन् ।

विशाल विष्ट मुख्य नाइके रहेको नख्खु कारागारमा कर्तव्य ज्यान, लागूऔषध, मानव तस्करी, हातहतियार–खरखजाना लगायतका कसुरमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु छन् । यदि चौकीदारहरुले हिनामिना गरेको पुष्टि भए तत्काल कारबाही हुने कारागार प्रशासनले जनाएकाे छ ।

नख्खु कारागारमा एक हजार चार सय ८६ जना कैदीबन्दी रहेका छन् । प्रदर्शनलाई नियन्त्रण गर्न कारागारभित्र सुरक्षाकर्मीको संख्या बढाएपछि अहिले अवस्था सामान्य रहेको कारागारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे