फोरलेन सडकको काम सुस्त, यसबर्ष एक अर्ब ३० करोड रुपैयाँ बजेट



फोरलेन सडकको काम सुस्त, यसबर्ष एक अर्ब ३० करोड रुपैयाँ बजेट

दाङ १७ भदौ । दाङको तुलसीपुर-घोराही-लमही फोरलेन सडकखण्ड समयमै बन्न नसक्दा दुर्घटना बढेको छ । निर्माणको नाममा सडक भताभुंगा पारिएपछि दिनहुँ सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् । यात्रुलाई समेत हिलाम्मे र धुलाम्मे भएर हिड्नु पर्ने अवस्था छ । घोराही-तुलसीपुर सडकखण्डको फोरलेनको काम सुरु भएको दुईबर्ष भैसकेको छ ।

कोरोना संक्रमणको कारण देखाउँदै फोरलेन बनाउने काम हुन नसकेको घोराही–तुलसीपुर फोरलेन योजनाका प्रमुख पारसमणि हमालले बताए । वितेको आर्थिक वर्ष २०७७/७८ मा ७ प्रतिशत मात्रै काम भएको प्रमुख हमालले बताए । आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ५ करोड बजेट नियोजन भए पनि काम भने जम्मा ७ प्रतिशत मात्रै भएको हो ।

‘फोरलेन अन्र्तगत हामी तीनवटा योजना छ, जसमध्ये तुलसीपुर-घोराही-लमही, चनौता–कृष्णनगर र बाग्दुला सडक योजना गरी तीन वटा योजना छन्, यो तीन वटा योजनाका लागि भनेर आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ५ करोड बजेट विनियोजन भएको थियो, प्रमुख हमालले भने ।’ तुलसीपुर-घोराही-लमही सडकखण्डमा ७ प्रतिशत, चनौता-कृष्णनगर सडकखण्डमा ३८ प्रतिशत काम भएको छ भने बाग्दुला सडकको भने मुद्दा परेकोले काम हुन नसकेको उनले बताए ।

‘फोरलेन सडक योजना अन्र्तगत तीन वटा योजना छ, तीन वटा योजनका लागि एकमुष्ट बजेट आउँछ, त्यो बजेटले जुन योजनाले जति काम गर्न सक्यो त्यति नै बजेट लैजान सक्ने हुन्छ, जस्तै तुलसीपुर-घोराही-लमही सडक फोरलेनका लागि जति काम गर्न सक्यो त्यति बजेट लैजान मिल्छ, प्रमुख हमालले भने ।’ गत आर्थिक वर्षमा योजनाको जम्मा १५ प्रतिशत मात्रै काम भएकोले ८५ प्रतिशत रकम फिर्ता भएर गएको छ । सरकारले सडक फोरलेन बनाउनका लागि बजेट विनियोजन गरे पनि यहाँ कामनै नगरि बजेट फिर्ता हुदै गैरहेको छ ।

‘बाग्दुला सडकखण्डका लागि ठेक्का लिएको कम्पनी कालोसूचीमा गएपछि ठेक्का रद्द गर्नका लागि अदालतमा मुद्दा विचाराधिन रहेको छ, प्रमुख खड्काले भने ।’ त्यस्तै घोराही-तुलसीपुर सडक विस्तार २८ किलोमिटरका लागि ठेक्का भएको छ । सो सडकमा रहेका रुख हटाउने काम भैसकेको र पोल हटाउने काम भने केही बाँकी रहेको हमालको भनाई छ । घोराहीको बबई खोलाको कुइरेपानी–तुलसीपुरको हात्तीखौवासम्म २८ किलोमिटर सडक मर्मत गर्ने ठेक्का सम्झौता भएको छ ।

घोराही-तुलसीपुर सडक योजनाका प्रमुख हमालका अनुसार बबई खोलाको कुइरेपानी-कटुवाखोला टु लेन (११ मिटर चौडाइ), कटुवाखोला-थापाचोक सर्रासम्म फोरलेन (२१ मिटर चौडाइ), सर्रा-नारायणपुर पेट्रोल पम्प झारबैरासम्म टु लेन (११ मिटर चौडाइ), झारबैरा-खैराचोकसम्म फोरलेन (२१ मिटर चौडाइ), खैराचोक-दुधरास चोकसम्म टु लेन (११ मिटर चौडाइ) र दुधरास चोक-हात्तीखौवासम्म फोरलेन (२१ मिटर चौडाइ) बनाउने सम्झौता भएको छ ।

कतै फोर लेन त कतै टु लेन बनाउने सहमती भएकोले काम गर्न असहज भएको छ । तर स्थानीय, प्रदेश सरकारले सबै फोर लेन नै बनाउनु पर्ने माग गरेकोले यसअघि सम्झौता भएका सडकलाई फोर लेन बनाउनका लागि प्रमाणिकरणका गर्न मन्त्रालयमा पठाएको प्रमुुख हमालले बताए । ‘कोरोनाको महामारीले गर्दा सडक मर्मत गर्ने काम एक वर्ष ढिला भयो, कोरोना महामारीको जोखिम कम भएदेखि पुनः काम शुचारु गरेका छौं, उनले भने ।’ साथै उनले नौ महिना म्याद थप गरिएको समेत बताए । तुलसीपुर-घोराही-लमही सडकखण्डलाई २०२२ मे १२ तारिखमा सक्ने योजनाको अवधी छ । तर पनि उक्त सडक अहिलेसम्म सात प्रतिशत मात्रै काम भएको छ ।

घोराही-तुलसीपुर सडकखण्ड निर्माणका लागि १ करोड २१ लाख ८२ हजार ३ सय एक यूएस् डलर बजेटमा तथ्य इन्जिनियरिङ्ग कम्पनी मुम्बईले ठेक्का लिएको छ । त्यस्तै सडक निमार्ण गर्दा चाहिने कच्चा पदार्थ ५० प्रतिशत भारतबाट आयात हुने गरेको छ भने ५० प्रतिशत स्थानीय कच्चा पर्दाथको प्रयोग हुने गरेको प्रमुख हमालले बताए । तर कोरोना महामारीमा लकडाउन हुँदा उक्त सडक मर्मतका लागि चाहिने कच्चा पदार्थलगायतका निमार्ण सामग्रीको समस्या भएकोले काम गर्न नसकिएको उनले बताए । साथै अहिले म्यापिङ्ग, ग्राबिल, सवग्रडिङ्गलगायतका काम भैरहेको उनले बताए ।

यसबर्ष एक अर्ब ३० करोड बजेट
आर्थिक वर्ष २०७८/०७९ का लागि एक अर्ब ३० करोड बजेट विनियोजन भएको उनले जानकारी दिए । गत आवमा आएको बजेटको ४५ प्रतिशत मात्रै काम भएकोले यस आर्थिक वर्षमा सतप्रतिशत बजेटको काम गर्ने गरी काम सुरुवात गरिसकेको प्रमुख हमालले बताएका छन् । यस वर्ष पनि कालोपत्रेको काम हुन नसक्ने बताए । निमार्ण सामग्री, म्यानपावरलगायतको काम भए लगतै बाँकी रहेको वाल, कल्भर्टलगायतको काम गरेर सवबेस गरेर मात्रै कालोपत्रेको लागि तयार हुने भन्दै उनले यस आर्थिक वर्षमा पनि कालोपत्रेको काम गर्न नसक्ने आंकलन गरिएको बताएका छन् ।

साथै उनले तुलसीपुर-घोराही-लमही सडक खण्डमा खाल्डाखुल्डी हुनुको मुख्य कारण भनेको पुरा कालोपत्रेमा नयाँ कालो पत्रे गर्न नमिल्ने भएपछि सो कालोपत्रे उप्काइएकोले यस्तो समस्या आएको बताए । तर अहिले वर्षा लागेकाले पुर्न गाह्रो भएता पनि सो खाल्डाखुल्डी पुर्दै गएको बताएका छन् । साथै उनले अब गर्न लागेको कालोपत्रे पहिलेकोभन्दा पनि गुणस्तरीय र टिकाउ खालको कालोपत्रे गरिने जानकारी दिएका छन् । साथै उनले यहि २५ अगस्तदेखि काम शुरु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे