तयारी नगरी दाङमा मन्त्रालय सार्दा प्रशासनिक कार्यमा समस्या भयाे : मन्त्री चौधरी



तयारी नगरी दाङमा मन्त्रालय सार्दा प्रशासनिक कार्यमा समस्या भयाे : मन्त्री चौधरी

लमही १६ भदौ । लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले तयारी नगरी दाङमा मन्त्रालय सार्दा प्रशासनिक कार्यमा समस्या भएको बताएका छन् । सञ्चार माध्यममा दाङ आएको मन्त्रालय फेरी बुटवल फर्कियो भनेर समाचार आएको भन्दै उनले मन्त्रालय जुन ठाउँमा आएको हो अहिले पनि सोहि ठाउँमा छ, मन्त्रालयको कामकारबाही सोहि मन्त्रालयबाट भैरहेको छ मन्त्री चौधरीले भने सबै तयारी नभएकै कारण बुटवल आउजाउ गर्नु परेको उनको भनाई छ ।

देउखुरीमा बुधबार मन्त्री चौधरीलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केहि दिन पछि लुम्बिनी प्रदेश सरकारको मन्त्री मण्डलले पूर्णता पाउने र अन्य मन्त्रालय पनि दाङ आउने बताए । अघिल्लो सरकारले सस्तो लोकप्रियताका लागि कुनै तयारि नगरी मन्त्रालय दाङ ल्याउँदा सेवा प्रवाहमा समस्या आएको उनको आरोप छ । मन्त्रालय मात्र सार्ने काम भएको रहेछ, काम केहि पनि भएको छैन, संरचना नवनेरै लोकप्रियता कमाउन खोज्दा अहिले समस्या आएको बताएका छन् ।

भौतिक संरचना निर्माण गर्ने काम भइरहेको भएपनि उक्त स्थानबाट प्राविधिक समस्याका कारण काम गर्न समस्या भएको थियो । देउखुरीमा राजधानी बनाउनको लागि आफुले पार्टीको ह्वीप उल्ङ्घन गरेर पक्षमा मतदान गरेको भन्दै अब राजधानी दाङ बाट दायाबाँया हुनेमा शंका नगर्न आग्रह गरे । कार्यक्रममा सहभागिहरुले देउखुरी उपत्यकालाई राप्ती उपत्यका नाम दिएर राजधानी घोषणा गरेको प्रति असहमति जनाउँदै ऐतिहासिक नाम देउखुरी उपत्यका नै उपयुक्त भएको बताएका थिए । कार्यक्रममा देउखुरी क्षेत्रका थारु वुद्धिजिवी समाजसेवी सहित थारु कल्याणकारीणी सभाका पदाधिकारीको सहभागिता रहेको थियो ।

थारु समुदायको तर्फबाट प्रदेशको मन्त्री बनेको प्रति खुसी व्यक्त गर्दै स्थानीय थारु समुदायले आदीवासी जनजाती मैत्री काम गर्न मन्त्रीलाई सुझाव दिएका थिए । थारु कल्याणकारीणीसभा देउखुरीका अध्यक्ष चेतराम चौधरीको अध्यक्षता तथा मन्त्री चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, पत्रकार केपी घिमिरे, कमल नारायण चौधरी, खडग बहादुर चौधरी लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन बाल गोविन्द चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे