एमाले र जसपाका प्रदेश सांसद, पालिकाका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउने



एमाले र जसपाका प्रदेश सांसद, पालिकाका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउने

काठमाण्डाै १३ भदाै । निर्वाचन आयोगले एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहने र जनता समाजवादी पार्टी (जसपा) बाट लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेश सभा र पालिकाका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।

नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता भएका हुन् । सरकारले ल्याएको अध्यादेशअनुसार सङ्घीय संसद् वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याए दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि यी दुवै दल विभाजित भइ यही भदौ ९ गते आयोगमा दर्ता भएका हुन् ।

आज आइतवार बसेको आयोगका पदाधिकारीको बैठकले दल परिवर्तन गर्न चाहने जनप्रतिनिधिहरूले भदौ २२ गतेसम्म निर्वाचन आयोगमा पुगेर सनाखत गर्नुपर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले भदौ २ गतेको मितिलाई आधार मानेर २२ गतेसम्म दल परिवर्तनको निर्णय गर्ने समय दिइएको जनाएको छ ।

अध्यादेशमा प्रदेश र पालिकाका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया सुरु भएको मितिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था भएअनुसार भदौ २२ गतेभित्र दुवै दलका जनप्रतिनिधिले सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सङ्घीय सांसदले भने अब दल परिवर्तन गर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे