कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमा नै लिने व्यवस्था गर्न संसदीय समितिकाे निर्देशन



कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमा नै लिने व्यवस्था गर्न संसदीय समितिकाे निर्देशन

काठमाण्डाै ८ भदाै । संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक उपस्थितिमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । शिक्षा तथा स्वास्थ्य समितिको मङ्गलवारकाे बैठकले विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरी कक्षा १२ को परीक्षा लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए ।

समितिकी सभापति घर्तीले भन्नुभयो, ‘कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएको हो । छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गर्नुपर्‍याे । विद्यार्थीहरू खोप नलगाउने, छुट्ने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन दिन हुन्न । यस्ता विषयलाई पनि ख्याल गरेर, यो सबै व्यवस्था मिलाएर छिटोभन्दा छिटो परीक्षा लिने दिशातिर सरकार जाओस् भनेर म समितिको तर्फबाट निर्देशन दिन चाहन्छु ।’

समितिले कोरोना खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरूमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सचेत समेत गराएको छ । समितिले ट्युशन शुल्क मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशनअनुसार कक्षा १२ को परीक्षाको व्यवस्था मिलाउन ढिलाइ नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

उहाँले भौतिक उपस्थितिमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अनलाइन ‘फी’ मात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन पनि तत्काल सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराए । इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अनलाइन फी मात्रै तिरेर आफूहरूले परीक्षा दिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे