माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न सभामुखलाई एमालेको ध्यानाकर्षण



माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न सभामुखलाई एमालेको ध्यानाकर्षण

काठमाण्डौ ३ भदाै । माधव नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । आज बिहीवार सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरूले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल पक्षका १४ सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो ।

सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताए । नेता भट्टराईले अरू दलका नेतालाई तत्काल कारबाही गरे पनि ७२ घण्टा बित्न लाग्दा समेत एमालेले कारबाही गर्न पठाएका १४ जना नेतालाई कारबाही गर्न विलम्ब गरिरहेको दुःखेसाे गरे ।

उहाँले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानुनी, गैरसंवैधानिक, बदनियत र नेकपा एमालेलाई जसरी पनि टुक्र्याउँछु भन्ने नियत हुने जिकिर गरे । नेता भट्टराईले नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारबाही गर्छु भन्ने सोचेको भए नेकपा एमाले चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।

एमालेले माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरुदेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई सांसदबाट हटाएकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे