माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र



माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र

काठमाण्डाै १ भदाै । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ नेतालाई सांसदबाट हटाउने निर्णय गरेको छ । एमालेले संसद् सचिवालयमा पत्र पठाएर पार्टीको निर्णय विपरीतका क्रियाकलाप गरेको भन्दै माधव नेपालसहित १४ जना सांसदको पद खारेज  गर्न माग गरेको छ ।

पार्टीले १४ जनाको सांसद पद खारेज गरिदिएको र सङ्घीय संसदले पनि खारेज गर्नुपर्ने पत्र संसद् सचिवालयमा दर्ता भएको नेतृ शान्ता चाैधरीले जानकारी दिनुभएकाे छ । एमालेले माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरुदेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई सांसदबाट हटाइएको जनाएको छ ।

यसैबीच एमाले नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यहरूको सङ्ख्या दुई सय ६० जना पुर्‍याएर त्यसको जानकारी निर्वाचन आयोगलाई दिएको थियो । २० प्रतिशत सांसद या केन्द्रीय सदस्य भएमा पार्टी विभाजन गर्न मिल्ने गरी सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि माधव नेपाल पक्षलाई नयाँ दल गठन गर्न अफ्ठेरो पार्ने गरी एमालेले केन्द्रीय सदस्य थपेर दुई सय ६० जना पुर्‍याएकाे हो ।

सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्दै ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद पुगेमा पार्टी विभाजन गरेर नयाँ दल बनाउन सकिने प्रावधानको ठाउँमा २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भएमा पार्टी विभाजन गर्न सकिने प्रावधान राखेर अध्यादेश ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे