प्रधानसेनापति थापाद्धारा शर्मालाई नेतृत्व हस्तान्तरण
काठमाण्डाै २५ साउन । प्रधान सेनापति पूर्णचन्द्र थापाले कायममुकायम प्रधान सेनापति बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति थापाले शर्मालाई जिम्मेवारी हस्तान्तरण र औपचारिक बुझबुझारथ गरेका हुन् ।
आउँदो भदौको २५ गतेदेखि सेवानिवृत्त हुन लाग्नुभएका प्रधानसेनापति थापा आज साेमवारदेखि बिदामा बस्न लागेकाले नेतृत्व हस्तान्तरण गरेका हुन् । गएको साउन १७ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गरेका थियो । ज्येष्ठताका क्रममा रहेका शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायममुकायम नियुक्त गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
कायममुकायम जिम्मेवारी तोकिनुभएका शर्माले आउँदाे भदौ २५ गतेदेखि नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रूपमा सैनिक नेतृत्व सम्हाल्ने छन् । स्वदेशमा सबै व्यावसायिक तालिम प्राप्त बलाधिकृतरथी शर्मा भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्यान्ड र पाकिस्तानबाट प्रतिरक्षा एवम् बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिमलिएका छन् ।
सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहनुभएका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार छन् ।