काठमाण्डाै उपत्यकाका नेवार समुदायले आज गथांमुगः पर्व मनाउँदै
काठमाण्डाै २२ साउन । आज साउन कृष्ण चतुर्दशी । काठमाण्डाै उपत्यकाका नेवार समुदायले औपचारिकतामात्र सीमित गरेर आज गथांमुगः पर्व मनाउँदैछन् । अघिल्लो वर्ष झैं यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गथांमुगः पर्वमा सार्वजनिक रुपमा बनाइने गथांमुगः नबनाएर घरघरमा गरिने पूजाआजामा मात्र पर्वलाई सीमित गरिने भनिए पनि केही स्थानमा परम्परागत गथांमुगः प्रदर्शनको तयारी चलिरहेको देखिएका छन् । आजका दिन टोल, नगर, मानव बस्तीका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएका गथांमुगःलाई खोला नदीसम्म तानेर लगेपछि दाह संस्कार गरी बगाइदिने गरिन्छ ।
यसरी भीमकाय परालबाट बनेको गथांमुगःलाई गुठी तथा दाफाभजनका सदस्यहरूले बाजागाजा बजाएर, अरुले छ्वाली बालेर सेलाउने गर्दछन् । गथांमुगःमा आवश्यक पर्ने सामाग्री भने टोलका स्थानीय बासिन्दासँगै माग्ने चलन रहेको छ । टोलटोलमा मान्छे मार्ने र मान्छेको मासु खाने गथांमुगः राक्षस मारेको सम्झनामा यो पर्व मनाइँदै आएको छ । त्यस्तै आजका दिन फलामका औँठी लगाउने, घरघरबाट भूत पन्छाउने, हातमा प्राकृतिक वनस्पतिका मेहंदी लगाउने पनि गरिन्छ ।