मुख्यमन्त्री निवासमा बन्धक बनाइ जबरजस्ती माइन्युटमा हस्ताक्षर गर्न लगाइयो : बिमला वली



मुख्यमन्त्री निवासमा बन्धक बनाइ जबरजस्ती माइन्युटमा हस्ताक्षर गर्न लगाइयो : बिमला वली

दाङ २१ साउन । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ५ दिनसम्म ‘बन्धक’ बनाएको आरोप लगाएकी छन्।

बुधबार मुख्यमन्त्री निवासबाट माओवादीको सम्पर्कमा पुगेकी उनले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा निगरानीमा जबरजस्ती राखेको र विभिन्न माइन्युट र विज्ञप्तिमा पढ्न नदिइ जबरजस्ती हस्ताक्षर गराएको बताइन्।

आफुलाई तीनमहिना अघि देखि नै एमालेले पार्टी प्रवेशका लागि दबाब दिइरहेको र अनेक प्रलोभन देखाएको भन्दै उनले मुख्यमन्त्री निवासमा लगेर जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताइन्।

 

मैले पटक पटक उहाँहरुलाई मैले एकपटक दल रोजिसकेँ, अब म यही माओवादी पार्टीमा रहन्छु भनेर भनेँ, तर उहाँहरुले मलाई तीनमहिनादेखि पटक पटक अनेक बहाना बनाएर दबाब दिएर मलाई पार्टीमा जानुपर्छ भन्नुभयो, उनले माओवादी संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भनिन् त्यसो गर्दा पनि मैले इन्कार गरेपछि मलाई मुख्यमन्त्री निवासमै लग्ने योजना बनाइएको रहेछ।

नेपालगञ्ज जाने भनेर मुख्यमन्त्री निवास पुर्‍याइयो
सांसद वलीले साउन १५ गते नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको र पार्टी प्रवेशको कुरा गरेको बताइन्।

उनले आफुले पार्टी प्रवेश नगर्ने बताएपछि अरु बहाना खोजेको बताइन्। आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेको र त्यही विश्वासमा गाडीमा चढेको उनले बताइन्।

तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें, उहाँहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याइयो।’

माइन्युट र विज्ञप्तिमा जबरजस्ती हस्ताक्षर गराइयो
उनका अनुसार मुख्यमन्त्री निवासमा पुगेपछि मुख्यमन्त्री पोखरेलले पहिले स्थान नदिएर गल्ती गरेको र त्यसलाई सच्याउने भन्दै आश्वासन दिए। उनी भन्छिन् त्यसबेला पनि मैले दल रोजिसकेँ अब मलाई दबाब नदिनुस्, म त्यसमै ठीक छु भन्ने कुरा राखेँ, त्यसपछि मन्त्री बनाउने र अरु सुविधा दिने भन्ने खालका कुरा गर्नुभयो, त्यो पनि मैले इन्कार गरेँ, त्यसपछि मलाई त्यहीँ राखियो, मेरो साथमा एमाले सांसद सरस्वती गौतमलाई राखिएको थियो, मेरो निगरानी गर्नका लागि होला, अनि बेलाबेलामा तिरण गौतमले कुरा गर्नुहुन्थ्यो, मलाई पार्टी प्रवेशकै लागि दबाब दिइएको थियो।

उनले पार्टी प्रवेश गर्न इन्कार गरेपछि माइन्युट र प्रेस विज्ञप्तिमा पढ्न पनि नदिइ जबरजस्ती हस्ताक्षर गर्नुस् भनेर दबाब दिएर हस्ताक्षर गराएको बताइन्। मलाई माइन्युट र अरु के के कागजहरु थिए तीनमा हस्ताक्षर गर्न भनियो, मैले पढेर हस्ताक्षर गर्छु भनेँ, तर त्यसो भन्दा जबरजस्ती हस्ताक्षर गर्न लगाइयो, प्रेस विज्ञप्ति पनि ल्याएर हस्ताक्षर गर्नुस् भनेर धम्क्याइयो, उनले भनिन् हस्ताक्षर गरेपछि म घर जान्छु, मलाई जान दिनुस् भनेँ, तर कसैले पनि मलाई बाहिर निस्किन दिने कुरा गरेनन्, मैले त्यहाँ बन्धक बनाएको महसुस गरेँ, मलाई केही कुरा गर्न पनि सोध्नुपर्ने, मेरो बारेमा चासो राखिरहने गर्ने गरियो।

उनले अघि भनिन्, ‘मैले निरन्तर इन्कार गरिरहें । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’ त्यसपछि पनि आफूलाई बाहिर आउन नदिएको भन्दै उनले भनिन्, ‘अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेको थिएँ तर अझ कडाइका साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो।’

अरुले आराम गरिरहेको बेलामा भागेँ
प्रदेशसभा सदस्य वलीका अनुसार २० गते उनी मुख्यमन्त्री निवासबाट भागेर बाहिर निस्केकी थिइन्। मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा पुगेको भन्दै उनले भनिन्, ‘भाग्ने त पहिल्यैदेखि प्लान गरेको थिएँ । कमला बिक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनें, त्यही बेला कसैलाई नदेखेपछि आएँ।’ आफ्नो चप्पल लगाउँदा आवाज आउने भएपछि शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको उनले बताइन्।

उनले त्यहाँबाट बाहिर आएपछि पनि घरपरिवारमा दबाब र तनाब दिने गरेको बताइन्। मुख्यमन्त्री निवासमा बन्धक बनाएको बताउने उनले त्यसको कानुनी उपचार नखोज्ने बताइन्। मलाई जबरजस्ती बन्धक बनाउने काम गरियो, माइन्युटमा जबरजस्ती हस्ताक्षर गराईयो, उनले भनिन् यो कुरा मैले सबै भनेँ, अब म माओवादीमा छु, म यहाँबाट अन्त गएको पनि थिइन, जान्न पनि, उनीहरुलाई कुनै मुद्दा पनि गर्दिन।

साभार : फरककाेण

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे