खोप अभियान व्यवस्थित र अस्पतालमा पूर्वाधार बढाउने सरकारको तयारी



खोप अभियान व्यवस्थित र अस्पतालमा पूर्वाधार बढाउने सरकारको तयारी

काठमाण्डाै १८ साउन । सरकारले खोप अभियानलाई व्यवस्थित बनाउने तथा कोरोनाको सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको पूर्व तयारी गर्ने काम भइरहेको जनाएको छ । सबै जिल्लाहरुमा क्रमशः खोप पुर्याउने काम भइरहेको र पालिकाहरुलाई व्यवस्थित रुपमा खोप वितरण गर्न भनिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले सबैले खोप पाउने भएकाले आफ्नो पालोमा मात्रै खोप लगाउन जान आग्रह गरे । खोप लगाउने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागू गर्ने र खोप केन्द्रहरू बढाउँदै लैजाने सरकारको तयारी छ ।

सम्भावित तेस्रो लहरको जोखिमलाई ध्यान दिँदै अस्पतालहरुमा पूर्वाधार बढाउने तथा जनशक्तिलाई तालिम दिने काम भइरहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए । यसअघि ल्याइएका भेन्टिलेटर सञ्चालनको लागि जनशक्ति व्यवस्थापन र तालिम दिने काम भइरहेको पनि उनले बताए ।

यस्तै सरकारले कोरोना भाइरसको तेस्रो लहर आउनुअघि नै आवश्यक स्वास्थ्य उपचार तयारी तथा होल्डिङ सेन्टर निर्माण, सीमा नाकामा खोपको व्यवस्था र सरकारी अस्पतालमा अक्सिजनको पर्याप्त सुविधा मिलाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे