लाईसेन्सको आवेदन खुल्ने अनिश्चित, ३५ हजार बढीको आवेदन, प्रहरी भने कारवाही गर्दै



लाईसेन्सको आवेदन खुल्ने अनिश्चित, ३५ हजार बढीको आवेदन, प्रहरी भने कारवाही गर्दै

तुलसीपुर १५ साउन । दाङ सहित साविक राप्तीमा दैनिक दर्जनौ सवारीका साधन किनबेच हुन्छ । सवारी साधन चलाउन चालक अनुमती पत्र अर्थात् लाईसेन्स अनिबार्य चाहिन्छ । तर यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले तीन महिनादेखी लाईसेन्स दिने प्रकृयालाई रोकेको छ । कोरोना संक्रमणको वहानामा गएको बैशाख १६ गतेदेखी लाईसेन्स आवेदनको काम ठप्प छ ।

गतबर्ष पनि लामो समय रोकिएको उक्त प्रकृया २०७७ पुस १५ मा आएर खुलेको थियो । करिब साढे ४ महिनापछि फेरी बन्द रहेको चालक अनुुमतीपत्रको आवेदन रोकिएको छ । आवेदन कहिलेसम्म खुल्छ कुनै निश्चित छैन । पुस १५ देखी वैशाख १५ गतेसम्ममा सवारी साधनको लाईसेन्स आवेदन दिनेको संख्या ११ हजार बढीले आवेदन दिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख रविन्द्र केसीले जानकारी दिए ।

सो अबधीमा ८ हजार दुईसय १७ जनाले ट्रयाल दिइसकेको र लाईसेन्समा गाडी थप्नेलगायत गरी २ हजार तीन सयजना बाँकी छन् । लाईसेन्सको लिखित परीक्षाको नतिजा यही साता प्रकाशित गर्ने जानकारी दिए । ‘लाईसेन्सको लिखित परीक्षा यही साताभित्रै प्रकाशित गर्छौ, त्यसमा १५ सय जति पास हुन्छन् होला, लगभल ४ हजारको हाराहारीमा ट्रयाल दिनेहरु छन्’, उनले भने । आवेदन हामीले खोल्न नमिल्ने उनको भनाई छ ।

विभागको कार्यविधि अनुसार लाईसेन्सको ट्रयाल दिने स्थानमा सिसी क्यामरा राख्न भनेपछि आफूहरुले पनि ट्रयाल दिने स्थानमा सिसी क्यामरा जडान गरेको उनले बताए । सिसी क्यामराको जडान गरेपछि विचौलीयाको संख्यामा कमी आएको र नतिजा स्वच्छ हुने उनको भनाई छ । ‘सिसी क्यामरा जडान भएपछि बिचौलियाको संख्या कमी पनि आयो, ट्रयाल दिन गएका व्यक्तिहरुले हाम्रो गल्ती नै थिएन किन मलाई ट्रयालमा फेल गर्नुभयो भनेर गुनासो गर्न आउने व्यक्तिहरुलाई प्रमाण सहित पेश गर्न र जवाफ दिन सहज भएको छ,’ केसीले भने ।

प्रहरी भने जरिवाना गर्दै
यता प्रहरीले भने लाईसेन्स नभएकालाई कारवाही गर्दै आएको छ । लाईसेन्स दिने कार्यालयले प्रकृयालाई रोक्ने यता प्रहरीले भने धमाधम ५ सयदेखी १५ सयसम्म जरिवाना गर्दै आएको छ । लाईसेन्स प्राप्तपछि मात्रै सवारीका साधन चलाउन पाईन्छ तर नभएरै चलाउँदा प्रहरीले कारवाही गर्छ ।

विना लाईसेन्स सवारीका साधन चालकलाई प्रहरीले जरिवाना तिराउने र छोड्ने गरेको छ । उक्त कार्यको आलोचना समेत हुने गरेको छ । नियमभन्दा पैसा ठूलो मान्ने प्रहरीले १५ सयको रसिद काट्यो भने छोड्ने गर्दा कति न्यायोचित भयो भन्ने प्रश्न उठ्ने गरेको गाडी धनीहरुको भनाई छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र उसका मातहतका प्रहरी इकाईले दैनिक दर्जनौ त्यस्ता बिना लाईसेन्सका चालकलाई कारवाही गर्ने गरेको छ ।

कार्यालयदेखी मैदानसम्म भाडामा
साथै उनले आफ्नै ट्रयाल मैदान, परीक्षा हल, कार्यालय समेत नरहेकोले भाडामा काम चलाउन बाध्य भएको बताएका छन् । ‘हामीसंग लाईसेन्सको लिखित परीक्षा गराउनका लागि परिक्षा हल छैन, भाडामा लिएर काम चलाइरहेका छौँ, आफ्नो भवन नहुदा त समस्या भैहाल्छ नि’, उनले भने । त्यस्तै लाईसेन्स वितरणमा कुनै पनि ढिलाइ नभएको बताउदै उनले सवारी लाईसेन्स वितरणमा कोरोना महामारीले समस्यामा पारेको बताए । तर यसअघि नै ट्रयाल पास गरी लाईसेन्स नलिएका लाई वितरण गरिहेको बताए । ‘कोरोनाका कारण लकडाउन जारी भएकोले दिनसकिएको नयाँलाई दिएका छैनौं, प्रशासनले लकडाउन हटाउने वित्तिकै नयाँलाई वितरण गर्ने गर्छौ’, उनले भने ।

७० हजार सवारी साधन दर्ता
यातायात व्यवस्था कार्यालयको स्थापना भएदेखी हालसम्म दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे र भाडाका गाडी गरी करिब ७० हजार सवारी साधन रहेको उनको भनाइ छ । साथै जिल्लामा तीनपांग्रे, चारपांगे, दुईपांग्रे गरेर वार्षिक रुपमा १० हजार ९ सय बढी सवारी साधनहरु दर्ता हुने गरेको उनले बताए । ‘गएको वर्ष २०७७ साउनदेखि ०७८ असारसम्म तीन पांग्रे, चार पांग्रे लगायतका सवारी साधन गरी जम्मा दुई सय र दुई पांग्रे सवारी साधन सबैभन्दा बढी ९ हजार बढी दर्ता भएका छन्’, उनले भने ।
त्यस्तै कार्यालयमा सवारी साधन लाईसेन्स पास गरेर नयाँ लाईसेन्स लिन आएका दंगीशरण ८ का वीरु चौधरीले लाईसेन्समा अनियमितता हुने गरेकोमा अहिलेको प्रकृया प्रभावकारी लागेको बताए । साथै उनले यातायात जस्तो कार्यालय यस्तो साँघुरो ठाउँमा नभएर फराकिलो ठाउँमा हुनुपर्ने बताए । मोटरसाइकल राख्ने समेत ठाउँ नभएको भन्दै उनले गुनासो गरेका छन् ।

त्यस्तै तुलसीपुर ८ पर्सेनी निवासी यादव विकले लाईसेन्स नविकरण गर्न आउँदा घण्टौँसम्म लाइनमा बस्नु पीडाको अन्त्य कहिले हुने भन्दै दुखेसो पोखे । बिहानै आएपनि मानिसहरुको भिडभाडले काम गराउनै अप्ठेरो भएको बताए । अहिलेको लाईसेन्सको ट्रयाल दिने प्रक्रिया निकै झन्झटिलो भएको समेत उनको भनाई छ ।

कार्यालय निमित्तको भरमा
दाङको यातायात व्यवस्था कार्यालय निमित्तको भरमा चल्न थालेको धेरै बर्ष हुन थालेको छ । तर पनि उक्त कार्यालयमा अझैसम्म कार्यालय प्रमुख आएका छैनन् । अहिले कार्यालयको निमित्त प्रमुखका रुपमा रनिन्द्र केसी कार्यरत छन् । यसअघि पनि निमित्त कै भरमा उक्त कार्यालय चल्ने गरेको छ ।

जनशक्तिको अभाव
जिल्लाको यातायात कार्यलयमा जनशक्तिको अभाव छ । अहिले कार्यालयमा २१ जना मात्रै कर्मचारी रहेको निमित्त प्रमुख केसीले जानकारी दिए । लाईसेन्समात्रै सञ्चालनका लागि कम्तीमा १० जना जनशक्तिको आवश्यकता पर्ने बताए । जसमध्य चार जना अपरेटर, ६ जना लिखित परीक्षा र ट्रयालका लागि जनशक्ति चाहिने बताएका छन् । जनशक्ति मागको विषयमा मन्त्रालयलाई जानकारी गएको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे