लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विश्वासकाे मत लिने



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विश्वासकाे मत लिने

रुपन्देही १२ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल विश्वासको मत लिन तयार भएका छन् । जनता समाजवादी पार्टीको विवाद निर्वाचन आयोगले टुङ्गो लगाएपछि मुख्यमन्त्री पोख्रेल विश्वासको मत लिन तयार देखिएका हुन् । ‘केही दिनभित्रै प्रदेश सरकारले विश्वासको मत लिन्छ’, सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने ।

प्रदेश सरकारले मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चौधरीले भने, ‘प्रदेश सरकारले छिट्टै विश्वासको मत लिन्छ । त्यसको तयारी पनि सुरु भइसकेको छ । विश्वासको मत पाए सरकार चलाउँछौँ, नपाए विपक्षमा बस्छौँ ।’

८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाको महन्थ ठाकुर पक्षका तीन सांसदकाे समर्थन प्रदेश सरकारलाई थियो । जनता समाजवादी पार्टीका तीन जना सदस्य कांग्रेस, माओवादी र जनमोर्चाको गठबन्धनमा रहेका छन् । विपक्षी गठबन्धनसँग सभामुखबाहेक ४१ सांसदकाे समर्थन छ । अब जसपाको विवाद टुङ्गाे लागेपछि उसकाे सिङ्गो समर्थन विपक्षी गठबन्धनलाई हुने निश्चित जस्तै छ । नाटकीय कुनै परिवर्तन भएन भने मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना छैन ।

प्रदेश प्रमुख धर्मनाथ यादवको सहयोगमा मुख्यमन्त्रीका रूपमा पोख्रेलको दोस्राे नियुक्ति गैरसंवैधानिक र अलोकतान्त्रिक भन्दै विपक्षी गठबन्धनले विरोध गर्दै प्रदेश सभाबाट वैधानिकता पुष्टि गर्न चुनौती दिँदै आएका थिए । प्रदेश सभाबाट आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित हुने सम्भावना नदेखेपछि सरकारले बजेट अधिवेशन अन्त्य गर्दै अध्यादेशमार्फत बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे