भाषा संरक्षणमा थारु बृहत शब्द कोषको महत्वपुर्ण भुमिका छ : उपकुलपती लामिछाने
लमही ९ साउन । नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपती प्रध्यापक डाक्टर यादवप्रकाश लामिछानेले भाषा संरक्षणमा थारु बृहत शब्द कोष पुस्तकले महत्वपुर्ण टेवा पुर्याउने बताएका छन् ।
थारु कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरीले प्रकाशन गरेको थारु बृहत शब्द कोषको शनिवार देउखुरीको लमहीमा विमोचन गर्दै सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका उपकुलपती प्रध्यापक डाक्टर लामिछानेले स्थानीय पालिकाहरुले सुरु गरेको थारु भाषाको पठन पाठनमा पनि सहयोग पुर्याउने बताए ।
साथै उनले अन्य शब्द कोषहरु भन्दा यो शब्द कोषले सवै कुराहरु समेटेको र मापदण्डहरु समेत पुरा गरेको बताए । त्यस्तै उनले थारु शब्द कोषले थारु समुदायको भाषा बोलीमा सुधार ल्याउने भएकाले यसको अभियानलाई व्यापक बनाउनु पर्ने बताए ।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले राप्ती गाउँपालिकामा थारु भाषाको पठन पाठन सुरु भइसकेकाले गाउँपालिकाले गर्नुपर्ने साथ र सहयोग रहिरहने बताए । त्यस्तै राजपुर गाउँपालिकाकी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कामना चौधरीले थारु भाषाको पठन पाठनका विषयमा गाउँपालिकामा कुरा लैजाने बताइन् ।
कार्यक्रममा सत्गौवा समाजका अध्यक्ष खड्कबहादुर सत्गौवा, थारु भाषा विद राजेन्दप्रसाद्र चौधरी, राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरी, भाषा संरक्षक उदयराज आले, थारु कल्याणकारिणी सभाकी क्षेत्रिय उपसभापती रामपती चौधरी, रेडियो हाइवेका प्रवन्ध निर्देशक केपी घिमिरे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका सहसचिव कर्कट चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव बालगोविन्द चौधरीले गरेका थिए ।

