जनगणना २०७८ साउन अन्तिम साता देखि सुरु गर्ने तयारी



जनगणना २०७८ साउन अन्तिम साता देखि सुरु गर्ने तयारी

काठमाडौं १२ असार । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलन कार्य साउनको अन्तिम सातादेखि सुरु गर्ने तयारी गरेको छ । साउनको अन्तिम सातादेखि तथ्याङ्क सङ्कलन सुरु गरेर असोजको पहिलो सातामा सक्ने गरी तयारी भएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।

जनगणना सुरु गर्नको लागि तयार भएको प्रस्ताव आइतबार बस्ने निर्देशक समितिको बैठकमा लैजाने र निर्देशक समितिले प्रस्ताव स्वीकृत गरेमा प्रस्ताव स्वीकृतीका लागि मन्त्रिपरिषद्मा जानेछ ।

मन्त्रिपरिषद्बाट स्वीकृति दिएमा आफूहरु साउनको अन्तिम सातादेखि तथ्याङ्क सङ्कलनका लागि तयार रहेको रेग्मीले बताए । गएको वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना सङ्क्रमणका कारण असहज परिस्थिति निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो ।

कोरोना सङ्क्रमण केही घटेर जनजीवन सामान्य बन्न थालेपछि तथ्याङ्क विभागले जनगणना निर्देशक समितिको बैठक बोलाएको होे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा विभिन्न मन्त्रालयका सचिव तथा विश्वविद्यालयका जनसङ्ख्या र तथ्याङ्क विभागका प्रमुख सदस्य रहने गरी निर्देशक समिति गठन गरीएको छ ।

जनगणनाका लागि कार्यालय स्थापनाको काम सकेर सामग्री व्यवस्थापन अन्तर्गत प्रश्नावली, निर्देशिका, कापी, कलम, तालिम सामग्रीहरू जिल्ला र प्रदेशका कार्यालयमा पठाइसकिएको विभागले जनाएको छ ।

झण्डै ९ हजार सुपरिवेक्षकको छनोट गरिसकिएको छ । उनीहरूमध्ये केहीले ६ दिने तालिम लिइसकेका छन् भने केहीले आधा तालिमकै क्रममा निषेधाज्ञाका कारण तालिम पूरा गर्न पाएका छैनन् । उनीहरूलाई नै फेरि १/२ दिनको पुनर्ताजगी तालिम दिने र कार्यक्षेत्रमा खटाउने विभागको तयारी छ ।

यस्तै ४० हजार गणकको छनोट र नियुक्ति प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ । केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गर्ने राष्ट्रिय जनगणना १९६८ सालदेखि सञ्चालन गर्दै आएको छ । यसको बाह्रौँ श्रृङ्खला अहिले सञ्चालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे