बाढी पहिरोले विभिन्न ठाउँमा सडक बन्द, बाटो नै बगाएका ठाउँमा तत्काल खुलाउन समस्या



बाढी पहिरोले विभिन्न ठाउँमा सडक बन्द, बाटो नै बगाएका ठाउँमा तत्काल खुलाउन समस्या

काठमाण्डाै २ असार । पहिरोले विभिन्न ठाउँमा सडक बन्द भएका छन् । बुटवल–नारायणगढ सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बुटवल–सुनवल, सुनवल–भूमहीलगायत सडक खण्ड हिजोदेखि नै बन्द रहेको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लामा निषेधाज्ञाका कारण गाडी जाम नरहेको र अत्यावश्यक गाडीलाई नवलपरासी हुँदै पठाइएको पनि प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकको सिद्धबाबा, गौडेपुल, कालीमाटीमा पहिरो झरेपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

केही ठाउँमा बाटो नै बगाएकाले तत्काल खुलाउन समस्या हुने देखिएको प्रहरीले जनाएको छ । यस्तै काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडिचौर–कोदारी सडक पनि बाढी र पहिरोका कारण बन्द भएको छ । यस्तै पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा पहिरो खस्दा बन्द भएको मध्यपहाडी लोकमार्ग खुलाउन समस्या भएको छ ।

सोमवार राति झरेको पहिरोले बन्द भएको सडक वर्षा नरोकिएको कारण खुलाउन नसकिएको प्रहरीले जनाएको छ । यस्तै बेनी–मालढुङ्गा सडक पनि दुई दिनदेखि बन्द छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना गाडी वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् भने ठूला गाडी बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे