गण्डकीमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी, अघिल्लो सरकारकै कार्यक्रमलाई निरन्तरता



गण्डकीमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी, अघिल्लो सरकारकै कार्यक्रमलाई निरन्तरता

काठमाण्डाै ३१ जेठ । गण्डकी प्रदेशमा आज आउँदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । शनिवार मात्रै नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको गण्डकीमा यसअघिकै सरकारले बनाएको नीति तथा कार्यक्रममा सामान्य परिवर्तन मात्रै गरेर पेस गर्ने तयारी भएको हो ।

बिहान ११ बजे प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर नीति तथा कार्यक्रमबारे टुङ्गो लगाउने र दिउँसो ३ बजेको लागि डाकिएको संसद बैठकमा पेस गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले कोरोना महामारी नियन्त्रण र स्थानीय पूर्वाधारलाई ध्यान दिएर नीति तथा कार्यक्रम र बजेट तयार गरेको थियो ।

त्यही कार्यक्रम यो सरकारले सभामा पेस गर्ने तयारी गरेको हो । प्रदेश सरकारले भोलि नै बजेट प्रस्तुत गर्ने तयारी पनि गरिरहेको छ । चालु वर्षका लागि ३४ अर्ब ८४ करोडको बजेट विनियोजन भएकोमा आउँदो आर्थिक वर्षको लागि पनि यही रकम हाराहारीकै बजेट ल्याउने तयारी भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे