काठमाण्डौमा थप एक हप्ता  निषेधाज्ञा थप्ने तयारी 



काठमाण्डौमा थप एक हप्ता  निषेधाज्ञा थप्ने तयारी 

काठमाण्डौ ३० जेठ । काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्न आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उनका अनुसार यसपालि विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ । यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ ।

यसका लागि निश्चित समय तोकिने छ । ढुवानी र जनशक्तिको व्यवस्थापन कुन समयमा कसरी मिलाउने भन्नेबारे आज निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । निषेधाज्ञा थप्नेबारे तीनै  जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले केही दिनयतादेखि सम्बन्धित निकायसँग छलफल गर्दै आएका थिए ।

उपत्यकामा पछिल्लो समय थपिएको निषेधाज्ञा भोलि देखि सकिँदैछ । यसैबीच, काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको पालना नगर्ने २ सय ६७ वटा गाडी होल्ड भएका छन् । आज बिहानै मात्र उपत्यकाका विभिन्न ठाउँमा २ सय ६७ वटा गाडीलाई होल्ड गरिएको हो । पास नभएका र अत्यावश्यक सामग्री बाहेकका गाडीलाई प्रहरीले होल्डमा राख्दै आएको छ । यसरी होल्डमा राखिएका गाडीलाई एक/दुई सय रुपैयाँ जरिवाना तिराएर बेलुका छोड्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे